काठमाडाैं । बैतडीमा जारी प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा डडेल्धुराले कञ्चनपुरलाई ६ विकेटले पराजित गरेको छ ।
दशरथ चन्द क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुरले १६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर ८८ रन बनायो ।
डडेल्धुराले ८९ रनको विजयी लक्ष्य १७ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा प्राप्त गर्यो । डडेल्धुराका लागि रविना धामीले अविजित १६ र हेमा भट्टले १५ रन बनाइन् । बलिङतर्फ कञ्चनपुरकी मञ्जु विष्टले दुई विकेट लिइन् ।
यसअघि पहिला ब्याटिङ गर्ने क्रममा कञ्चनपुरकी रेवती धामीले सर्वाधिक ४१ रनको योगदान दिइन् । बलिङतर्फ डडेल्धुराकी हिरा साउदले तीन विकेट लिइन् । उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही १९ पुसदेखि उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता २५ पुससम्म चल्नेछ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी गराए।
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता आगामी १ माघदेखि कैलालीको धनगढीमा हुने तय भएको छ ।