काठमाडाैं । पुरानो मैत्रीपूर्ण सम्बन्धको असल परम्परालाई संस्थागत गर्दै परस्पर दौत्य सम्वन्ध कायम भएयता दशकौंदेखि नेपाल र चीन असल छिमेकी, असल मित्र र असल साझेदार राष्ट्र मानिदै आएका हुन् । अनि दुबै राष्ट्रले लामो समयदेखि एक अर्काको सार्बभौमिकता, अखण्डता र स्वाधीनताको पनि उच्च सम्मान गर्दै र कतिपय नमिलेका कुरा परस्पर सहमतिमा मिलाउँदैै आएका पनि हुन् । यसै परिप्रेक्षमा नेपालले एक चीन नीतिलाई निरन्तर मान्दै र त्यसलाई हरेक औपचारिक तथा अनौपचारिक अबसरमा पनि दोहो¥याउदै आएको हो भने चीनले पनि नेपालको सार्बभौमिकता, अखण्डता र स्वतन्त्रतामाथि खलल पुग्न नदिने कुरा बारम्बार प्रष्ट पार्दै आएको लामो परम्परा बनिसकेको हो ।
तर पछिल्ला समयमा नेपाल–चीन सम्वन्धको यो उच्च र असल परम्परामा आँच पु¥याउने र भाँजो हाल्ने गलत काम शुरु भएको मात्रै छैन त्यो लामो मैत्रीपूर्ण सम्बन्धमा खलल पु¥याउने काम पनि हुन थालेको छ ।
हालसालै बर्ष २०२४ को डिसेम्बर महिनाको १९ तारिखका दिन बेइजिङ्गमा सम्पन्न चीन–भारत बीचको एउटा उच्च स्तरीय आधिकारिक सम्झौतामा नेपालको भूमि भएर चिनको कैलाश मान सरोबरमा जाने मार्गको उल्लेख गरिएको छ । यो नेपालको सार्बभौमिक अखण्डताको सरासर उल्लंघन हो । कथित रोटी बेटीको हवाला दिने तर सधैं सार्बभौमिकता लगायत नेपालमा राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक हरेको भारतीय सत्ताको बिस्तारबादी मिचाह प्रबृत्ति र नीतिप्रति नेपालको घोर बिरोध रहेको त्यस भूभाग – लिपुलेकवाट मानसरोवर – कैलाश जाने मार्ग खोल्ने समझौता दोहोरिएको र त्यस आपत्तिजनक सम्झौतामा नेपाल सरकारले पनि बेवास्ता गरी मौन सहमति जनाएकोमा नेपाल कम्युनिष्ट पार्टी त्यसप्रति घोर आपत्ति जनाउँदै जोडदार बिरोध गर्दछ । त्यो नेपालको भ–ूअखण्डता र सार्बभौमिकतालाई सोझै आँच पुर्याउनेसम्झौता तत्काल खारेजीको जोडदार माग गर्दछ ।
नेपालको राजनीतिक मानचित्रमा चुच्चे नक्सा संसदबाट सर्बसम्मत पारित गरेकोमा ठूलो गर्बानुभूति गर्ने र नेपाली नोटमा समेत त्यो नक्शा समाबेश गरिएको पछिल्लो सन्दर्भमा बर्तमान नेपाल सरकारले भारत–चीन बीचको त्यो सम्झौताप्रति मौन सहमति जनाउनु अत्यन्तै सन्देहास्पद, आपत्तिजनक र बिडम्बनापूर्ण छ ।
बिगतमा कहिल्यै पराधिनताको प्रत्यक्ष पासोमा नपरेको नेपाललाई २१सौं शताब्दीमा आइपुग्दा दशकौं उपनिवेशबादी साम्राजयबादसँग दुधर्ष संघर्ष गरेर स्वाधीनता प्राप्त गरेका चीन र भारतले नेपाललाई पराधिनतामा धकेल्न खोज्नु उनीहरुको त्यो साम्राज्यबाद बिरोधी संघर्षको समेत घोर अपमान हो । त्यसैले स्वाधीनताप्रेमी नेपाली जनताका लागि यो सम्झौता किमार्थ स्वीकार्य र मान्य हुन सक्तैन । अतः नेपाल सरकारको लाचार आत्मसमर्पणबादी प्रबृत्तिको घोर बिरोध गर्दै र सानो देश नेपालप्रतिको महादेश जत्रै दुइ छिमेकी देश भारत र चीनका बिच सम्पन्न यो सम्झौताको नेपालको सार्बभौमिका अखण्डता बिरोधी प्राबधान खारेज गर्न नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ । साथै चीन र भारत दुबैसँग नेपालसँग अनाक्रमण सन्धि गर्न र नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र स्वाधीनताको सम्मान गर्न तथा सम–मैत्री र निकटताको सम्वन्ध कायम गर्न समेत जोडदार माग गर्दछ ।