काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त रुपमा नागरिकको अवस्थामा परिवर्तन हुन नसकेको जनाएका छन्।
शुक्रवार काठमाडौंमा आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा ओलीले अवस्थामा परिवर्तन हुँदै नभएको भन्नेकुरा गलत रहेको तर हुनुपर्ने परिवर्तन नभएकाे बताएका हुन्।
उनले नेपालमा महिलाहरूले रोजगारी गर्ने मात्रै नभइ आफैँ रोजगारी सिर्जना गरी रोजगारको अवसर प्रदान गरिरहेको बताए।
उनले महिला जनप्रतिनिधि र पुरुष जनप्रतिनिधिहरुले गरेका कामबीच प्रतिष्पर्धा हुने हो भने ८० प्रतिशतमा महिला विजयी हुने दाबी गरे।
उनले भने, ‘यहाँ दिदीबहिनीहरूले भाषण गर्न पाउनुभएको छैन, भाषण गर्न पाउने हो भने दर्शक उचाल्नुहुन्छ। हिजो त्यस्तै थियो त । दिदीबहिनीहरूले विभिन्न प्रकारका उद्यमशिलताका, आफ्नो ठाउँमा उद्यमशिलता कसरी शुरु गर्ने, रोजगारी कसरी शुरु गर्ने, जागिर खान कुद्ने मात्रै होइन, रोजगारीका अवसर सिर्जना गरेर आफैँले इन्टरपेनरसिप भन्छ नि, आफैँ लगानीकर्ता, आफू पनि रोजगार हुने र अरुलाई पनि रोजगार दिने यस कामतिर लागिरहनुभएको छ ।
यसमा धेरैले सफलता पनि पाउनुभएको छ। उहाँहरुले भन्न पाउनुभएको छैन, आफ्ना-आफ्ना ठाउँमा केके गर्नुभएको छ, केके नयाँ कुरा गर्नुभएको छ।’