काठमाडौं। सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरुद्धको आज तेस्रो दिनको थुनछोड बहस जारी रहेकोछ ।
कास्की जिल्ला अदालतमा पुस १६ गतेदेखि सुरु भएको बहसमा मंगलबार र बुधबार सरकारी वकिलहरूको तर्फबाट बहस भएको थियो । सरकारी वकिलहरूले मुलुकी फौजदारी संहिताको आधारमा प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गरेका थिए ।
सरकारी वकिलतर्फका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेल, कमला काफ्ले र शान्तिदेवी शर्माले सहकारीमार्फत बचतकर्ताहरूको रकम ठगी गरी ठूलो आर्थिक क्षति पुर्याएको भन्दै प्रतिवादीलाई कारागारमा राख्नुपर्ने माग गरेका थिए ।
सरकारी वकिलहरूको तर्क सकिएसँगै आजदेखि जाहेरीवालाको तर्फबाट बहस सुरु भएको छ। यसपछि प्रतिवादीतर्फका वकिलहरूले बहस गर्नेछन्। प्रतिवादीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता नारायण घिमिरेले छविलाल जोशीका वकिलहरूले पहिलो बहस गर्ने र त्यसपछि अन्य प्रतिवादीका वकिलहरूले बहस गर्ने उल्लेख गरे ।
वरिष्ठ अधिवक्ता घिमिरे, सुशीलकुमार पन्त, डा नारायणदत्त कँडेल, र सोविता गौतमलगायतका वकिलहरूले प्रतिवादीतर्फबाट बहस गर्ने तयारी गरेका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ७ जनाविरुद्ध थुनछेक बहस चलिरहेको हो । सहकारीका सञ्चालक तथा कर्मचारीहरूले बचतकर्ताको १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरिएको थियो । लामिछानेसँगै पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाईं, मिना गुरूङ, कृष्णबहादुर गुरूङ र आरती गुरूङ प्रतिवादी छन् ।