-जानकी पाण्डे,
नेताहरुको स्वागतमा केही वर्षअघि देखिने दृश्यहरु फेरि पुनरावृत्ति हुन थालेको छ । हालै पर्सामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक सय ८० किलोको मालासहित अभिनन्दन गरिएको छ ।
एमालेको पर्सा कमिटीले आइतबार आयोजना गरेको कार्यक्रममा पर्साकै सखुवा प्रसौनी गाउँपालिकाले प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरिएको थियो । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उक्त गाउँपालिकाका एमालेबाट उम्मेदवार भई जसवन्त यादव अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
यादवकै अगुवाइमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरिएको छ । पहिले चुनावका बेला वा चुनावी नतिजा सावर्जनिक भएपछि मात्रै नेताहरूले माला लगाउने गरेको देखिन्थ्यो । केही वर्षअघि भने नेताहरू गृहजिल्ला होस् वा काठमाडौंबाट बाहिरका कुनै सार्वजनिक कार्यक्रममा जाँदा, रिझाउनकै लागि ठूल्ठूला माला लगाइदिने होडबाजी दलका कार्यकर्ता र आयोजकमा बढेको देखिन्थ्यो । जेलबाट कैद सजाय भुक्तान गरेर निस्केका व्यक्तिलाई पनि माला पहि¥याइदिने गरेको घटना त्यतिबेला भएका थिए ।
२–४ वर्षअघि कुनै कार्यक्रमको उद्घाटनमा पुगेका नेतालाई ठूलो र धेरै माला नलगाइदिएको देख्न मुस्किल हुन थालेको थियो । सरकारी विद्यालयले आयोजना गर्ने रजत वा हीरक जयन्ती जस्ता कार्यक्रममा पनि नेतालाई बोलाएर ठूल्ठूला माला लगाइदिने होड देखिएको थियो । सार्वजनिक जिम्मेवारी पूरा गरेकै भरमा किलोका किलो माला लगाइदिने गरेको पनि पाइन्छ । नेताहरूको स्वागत सत्कारमा ठूला माला लगाइदिने अभ्यास ढोंग र बकम्फुसे हो । परम्परागत वा सांस्कृतिक प्रचलनअनुसार सामान्य स्वागत सत्कार गर्ने अभ्यास हराएर अरूलाई देखाउन र प्रचार गर्न ठूला माला लगाउने गर्नु दरिद्र मानसिकता हो ।
एक डेढ दशकअघिसम्म दलका नेताहरू जिल्ला जाँदा सामान्य टीका मात्रै लगाएर वा केही थुंगा फूल दिएर स्वागत गर्ने गरेको पाइन्छ । पार्टीहरू सर्वसाधारणले दिने चन्दाको भरमा चल्थे । नेताहरूको स्वागतको पनि मौलिक तरिका थियो । दसकयता भने राजनीतिबाट स्वागत सत्कारको यस्तो प्रचलन बिस्तारै हराउँदै गयो । नेताहरूलाई धेरै किलोको माला लगाइदिन भइरहेको होडले पार्टीभन्दा व्यक्ति बलियो बन्दै गएको प्रमाण पनि हो । अहिलेको समाज व्यवस्थाको प्रतिनिधि चरित्र नेताहरूलाई ठूलो माला लगाइदिएर खुसी पार्ने जस्तो देखिएको छ । पार्टीको चाकडी गर्न मिल्दैन । त्यसो भएपछि व्यक्तिको चाकडी गर्ने चरित्र फस्टाएको छ । ठूलो माला लगाइदिने भनेकै चाकडी र चाप्लुसीको एउटा अभ्यास हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पर्सामा १८० किलोको माला लगाउनुको अर्थ पनि त्यही नै हो ।
हाल देशमा सर्वहारा वर्ग गाँस, बास, कपासका लागि नै संघर्ष गर्नुपर्ने बाध्यतामा छन् । पछिल्लो समय देशमा दलाल पुँजीवाद र बिचौलिया हावी हुँदा किसान, श्रमिकलगायत धेरै पीडित छन् । महँगीका कारण जीवनयापन नै धान्न गाह्रो छ । ऋण लिँदा घरबास उठिबास लाग्ने जोखिम छ । के संविधानमा उल्लेख गरेको समाजवाद यही हो त ? कम्युनिस्ट पार्टी सरकारमा रहेकाले सर्वहारा वर्गको पक्षमा काम गर्न सरकारलाई दबाब र सहयोग गर्ने हो, न कि ठूलो माला लगाइदिएर चाप्लुसी । देशमा भ्रष्टाचार, तस्करीमा कमी आउन सकेको छैन । शिक्षा, स्वास्थ्य, बैंकवित्त सबै क्षेत्रमा चरम लुट छ ।
महँगीका कारण उपभोक्ताको ढाड सेकिएको छ । न्यून आय भएका नागरिकलाई दैनिकी धान्न नै कठिन भइसकेको छ । बेरोजगारीका कारण सयौं युवा दैनिक विदेश पलायन भइरहेका छन् । तर, पूँजीपति वर्ग भने सरकारबाट लाभ लिन सफल भइरहेका छन् । जनतालाई मर्कामा पार्ने दलाल बिचौलियाबादलाई नियन्त्रणमा लिन सरकार असफल साबित भइरहेको छ । समाजवादको गन्तव्य लिएर हिँडेका दल र तिनका नेताको जीवनस्तर पनि जनताको बराबर हुनुपर्छ । उनीहरु जनतामाझ जुनसुकै बेलामा जानसक्ने वातावरण हुनुपर्छ । विश्वका केही कम्युनिस्ट प्रधान देशमा त्यसैगरी नै नेतृत्वले जनताको विश्वास जितेर विकास निर्माण देशलाई समृद्ध पनि बनाएका छन् । नेपालमा भने जनतादेखि नेता डराउनुपर्ने र भाग्नुपर्ने अवस्था छ । यसको कारण कम्युनिस्ट दलको नेता भने पनि वास्तविकतामा भने पूँजीवादी प्रवृत्तिको पक्षपोषक भएका कारण हुन् ।
जब ओली नेतृत्वको सरकारले यी तथ्यमा टेकेर काम गर्न सक्छन् र सर्वहारा वर्गको मन जित्न सक्छन्, तब मात्र यस्तो स्वागतको अर्थ हुनेछ । बरु, आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि सरकारलाई घच्घच्याउन आवश्यक छ । विगतमा जस्तै यो सरकारले आन्तरिक उत्पादन बढाउने, विभिन्न वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने विषयमा भने अझै सोच्नसमेत भ्याएको छैन । नेपालमा वर्तमान समस्या भनेको हरेक वस्तुका लागि आयातमा निर्भर हुनु हो ।
कृषिप्रधान देश भनिए पनि नेपालले चामलदेखि गुन्द्रुकसम्म विदेशबाट आयात गर्दै आएको छ । आयातको तुलनामा निर्यात भने अत्यन्त न्यून छ । जबसम्म कुनै पनि देशले निश्चित वस्तुमा आफूलाई आत्मनिर्भर बनाउँदा तबसम्म त्यो देशको अर्थतन्त्र सबल हुन सक्दैन । नेतालाई स्वागत गर्ने मालाको लागि फूल पनि नेपालले भारतबाट आयात गर्नुपर्ने अवस्था छ । त्यसैले यस्तो तडकभडकमा नअल्झी अर्थतन्त्र सुधारका लागि काम गर्ने हो कि ? कामै नगरी स्वागत मात्रै भव्य गर्ने प्रवृत्तिले कतै प्रधानमन्त्रीलाई नै हास्यपात्र त बनाएको छैन ? यो तथ्यलाई पनि मनन गर्न जरुरी छ । जनधारणा साप्ताहिक