लोकनारायण सुबेदी
बितेको पुरानो बर्षकै बिरासत बोकेर अन्तर्राष्ट्रिय नयाँ बर्ष २०२५ े प्रबेश गरिसकेको छ । यद्यपि सम्बत्सर फेरिदा आगामी दिनको सटीक र ठीक ठीक भबिष्यबाणी गर्नुृ शायद मूर्खता होला र त्यस्तो भबिष्यबाणी असफल नै ठहरिएला पनि । तथापि के भन्न सकिन्छ भने बिश्व अनिश्चितताको मूल श्रोत भने आर्थिक तथा भू–राजनीतिक नै हुने गरेको यथार्थ छ । यसपछि केही अरु कारकहरु पनि हुने या उत्पन्न हुने गर्दछन् । बर्तमानलाई सर्सरी हेर्दा अहिलेको चालु यूक्रेन युद्धको अन्तहीन निरन्तरता र असर, प्यालेस्टिनमाथिको निरन्तरको हमला बितेको सालको आम नरसंहार तथा पश्चिम एशियाको ब्यापक क्षेत्रमा यसको बिस्तार एबं बिश्वका कयौं देशहरुमा घोर दक्षिणपन्थी शक्तिहरुको उदयलाई लिन सकिन्छ । यसमा यूरोपका जर्मनी लगायतका देशहरु पनि पर्दछन् ।
हुन त कुनै पनि क्यालेण्डर (पात्रो) बर्षको आरम्भ प्राय हामी सधैं नै नयाँ आशा र अपेक्षाकासाथ गर्ने गर्दछौं । यो मानब अस्तित्वकै प्रकृति जस्तो भएर प्रकट हुने गर्दछ । आउदो बर्षका चूनौति र कठिनाईहरु जतिसुकै कठीन किन नहुन् आशा अपेक्षाले जहिले पनि निराशालाई जितेर अघि बढेको झैं नै लाग्दछ । भू–राजनीतिका अतिरिक्त आज बिश्वमा आर्थिक अनिश्चितताको माहोल पनि ब्याप्त छ जसलाई पछिल्लो समय आउदो २० जनवरीका दिन पदासिन हुन लागेका अमेरिकाका नब निर्बाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बढी हावा दिइरहेका छन् भनिन्छ । उनले उच्च आयात शुल्क, सरकारी फण्डिङ्गमा कटौति,सबल आप्रबासी नीतिलाई बढावा दिने र अधिकांश बिश्व जलवायु सन्धिहरुबाट पछि हट्ने जस्ता कुरामा बढी जोड दिएका र प्रतिबद्धता जनाएका छन् ।उनको सरकार अधिक संरक्षणबादी हुने जस्तो देखिन्छ । यो ट्रम्प सरकारको लेनदेनमा अमेरिकाको बिशुद्ध फायदाको दृष्टिकोणकासाथ अन्तर्राष्ट्रिय कूटनीतिमा संलग्न हुने सम्भावना बढी देखिन्छ । यसका अतिरिक्त ट्रम्प सरकारले मन्दीका बीच बढ्दो मँहगीसँग पनि लड्नु पर्ने स्थिति छ । अर्कोतिर अमेरिकी सरकारको ऋण भार भने ३५ लाख करोड डलरको नया अपूर्ब उच्च शिखरमा पुगिसकेको छ । ऋणको पहाडलाई पुष्ट गर्ने तथा उच्च घाटा बोक्ने र ऋण लिने स्थितिका पछाडि अमेरिकी सरकारको एउटा अतृप्त भोक रहँने गर्दै आएको औंल्याइन्छ । केवल त्यो ऋणको लागि मात्र झण्डै झण्डै एक लाख करोड डलर ब्याज दिनुपर्ने हुन्छ । यो ऋण लिने भोकले अमेरिकी डलरलाई सबल राखिराख्छ भन्ने एकथरी अर्थ बिश्लेषकहरुको निष्कर्श छ । यद्यपि यसबाट अन्य देशका कमजोर मुद्राहरु र मुद्राहरुको क्षमतामा गिरावट आउँद छ । अनि कमजोर मुद्राहरु मुद्रास्फितिलाई अझ खराब तुल्याउने कारण बन्दछन् ।
आफ्नो यस्तो आर्थिक संकट हुँदा हुँदै पनि अमेरिकी शेयर बजार ले २०२४ को काल क्रममा उच्चाई नै देख्यो । जसले गर्दा त्यहाँका १५० भन्दा बढी नयाँ मानिसहरु नयाँ अर्बपति बने । अमेरिकाका १२ जना सबैभन्दा धनाढ्य मानिसहरु अब एकसाथ २–२ लाख करोड डलरको हैसियतका बन्न पुगेका छन् । यसरी अहिले बिश्वसँग उच्च मुद्रास्फिति, उच्च बेरोजगारी,एउटा अनियन्त्रित परिसम्पत्ति बजार बिकास(स्टक र रियल इस्टेट) तथा ब्यापक सम्पत्ति तथा आय असमानताको एउटा ककटेल बनेको देखिन्छ। यस प्रकार के देखिएको छ भने जब पैसा कमाउने सामुहीक पागलपनाले जोड पक्रिन्छ त्यतिबेला शेयर बजारमा अचानक तथा तीब्र सुधारको प्रबृति हुन्छ । सन् २००८ मा भएको लेहमे ब्रदर्स दुर्घटनलाई धेरै कम मानिसले मात्र बुझेका थिए । चीन पनि आफ्नो बैंकिङ्ग तथा रियल इस्टेटमा तानतानीकासाथ मन्दी तथा ठूलो ऋणसँग समेत लडिरहेको छ । यस स्थितिमा चीन पनि अक्षय ऊर्जा, कृत्रिम बुद्धिमत्ता(एआई) र अन्तरिक्ष प्रबिधि–प्रद्योगिकीद्वारा सञ्चालित नयाँ अर्थब्यबस्थामा संक्रमण गर्ने अधिकतम कोशिश गरिरहेको छ । अनि पूर्बी एशियामा जापान अन्य क्षेत्रहरुकोभन्दा तुलनात्मकरुपमा राम्रो स्थितिमा देखिन्छ र त्यहाँ राम्रो र ब्यापक आर्थिक बिशेषताहरु प्नि रहेको बताइएको छ ।
यी सबै परिदृष्यका बीच बढ्दो असमानता आजको बिश्वको एउटा जीबन्त चिन्ताको बिषय हो । त्यसै स्थितिले गर्दा नै संयुक्त राष्ट्र संघले समेत यो असमानतामा कमी ल्याउन र उन्मूलन गर्न दीगो बिकास(सस्टेनेबल डेभलपमेण्ट गोल)लक्षको नारा दिदै आएको हो । यस्ता जनतालाई लोभ्याउने नारा दिने नेताहरुको उदय, कल्याणकारी योजनाहरुमा बढ्दो खर्च बढ्दो असमानताकै प्रतिकृया हो । यो आजको बिश्वको नयाँ चूनौति वास्तबमा के छ भने कल्याणकारी खर्चको राजकोषीय बोझको प्रबन्धन के कसरी गर्ने हो ।
नेपालमा त यहाँको राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक हरेक क्षेत्रको चौतर्फीरुपमा बिग्रदो र बिकृतिकरण गरिदो लाजमर्दो र दयनीय स्थितिलाई हेर्दा नयाँ पनाको केही कतै कुनै अत्तोपत्तो हुने या आभाषसम्म पनि पाइने गर्दैन । पुरानै बोझमाथि थप अर्को त्यस्तेै बोझ थपिदै जाने स्थितिको हामी निरन्तर भुक्तभोगी हुँदै आएका छौं । हिजोको सामन्ती राणाशाही र राजाशाहीमा जस्तै आज पनि राजनीतिलाई जनता र राष्ट्रको हित बिपरीत संकीर्ण र छुद्र स्वार्थको उपकरण मात्र बनाउने गरेपछि त्यसले सही दिशा र गति लिन नसक्ने कुरा स्वतः सिद्ध छ ।
त्यसैले हामीकहाँ कुनै एउटा सरकार बन्ने बित्तिकै त्यो कहिले ढल्छ भन्ने हल्ला चलाइन मात्र थालिदैन त्यस्तो अर्को गठजोडका लागि आन्तरिक र बाह्य जोड लगाउन थालिन्छ । अस्थिरता, अस्थाइत्व र अल्मल हाम्रो हिजोदेखि आजसम्मको राजनीतिका अभिन्न कुरा बनेका छन् । जनता र राष्ट्रलाई आधारभूतरुपमा नयाँ कुनै कुरा दिन नसकेपछि यस्तै अल्मल र तिनको खल्बलमै समय बित्छ । त्यसैले केवल सूर्य र चन्द्रको गतिका कारण बद्लिएको समयलाई नया या पुरानो भनेर यथास्थितिलाई धान्ने गलत कुराबाट छुट्टी लिने स्थिति नबनेसम्म नब बर्षको कर्मकाण्ड हाम्रा लागि ‘श्राद्धमा बिरोलो बाध्ने’ पुरानो कथा चरितार्थ भइरहने एउटा परम्परा मात्रमा सीमित भइरहन्छ । अहिलेसम्मको अनुभवले यो भन्दा अरु कनै सार्थक निष्कर्श निस्कने आधार र अनुमति दिदैन । जनधारणा साप्ताहिक