काठमाडौं । बुधबार सेयर बजार परिसूचक (नेप्से) सामान्य बढेको छ । यो दिन बजार ५ अङ्कले बढ्दा नेप्से परिसूचक २५८१.६० बिन्दुमा पुगेको छ । बजार सामान्य बढेको भए पनि कारोबार रकम भने आज घटेको छ ।
बुधबार कुल ३०५ कम्पनीको ९४ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ अर्बभन्दा बढीले कम हो । मङ्गलबार ५ अर्ब ६१ करोडको कारोबार भएको थियो ।
बुधबार १५० कम्पनीको मूल्य बढेको छ भने ८८ ओटाको घटेको छ । त्यस्तै, चार ओटा कम्पनीको सेयर मूल्य भने स्थिर छ । बुधबार त्रिशूली जलविद्युत् कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
यसैगरी, आत्मनिर्भर लघुवित्त, सुपर मादी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो ।
आजको कारोबारमा पनि सपोर्ट माइक्रोफाइनान्सको मूल्यमा नकारात्मक सर्किट लाग्यो । त्यस्तै, आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । यो कम्पनीको आजको कारोबार रकम २१ करोड ८२ लाख १७ हजार रुपैयाँ छ । बजार पुँजीकरण रकम ४२ खर्ब ८२ अर्ब १० करोड रुपैयाँ कायम भएको छ ।
बुधबार कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये फाइनान्स समूहमा लगानीकर्ताहरूको आकर्षण बढेको देखिन्छ । यो समूहको परिसूचक ३.८७ प्रतिशतले बढेको छ भने केही समयदेखि लगातार ओरालो लागेको विकास बैंक समूहको परिसूचक १.५८ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर समूहको परिसूचक १.२४ प्रतिशतले बढेदा आज बैंकिङ, जीवन बिमा, लघुवित्त, म्यचुअल फण्ड र अन्य समूहको परिसूचक घटेको छ।