-जानकी पाण्डे,
२१औं शताब्दीमा पनि हामी अझै महिलाको हकअधिकारको विषयमा छलफलमा छौं । यसको कारण हो, अझै पनि महिलाका सम्बन्धमा हाम्रो सामाजिक मनोविज्ञान संकुचित छ । महिलालाई शिक्षा, स्वास्थ्यदेखि, स्वतन्त्रताका विषयमा अझै हामीले धेरै काम गर्नुपर्ने देखिन्छ । त्यसका लागि सबैभन्दा पहिले त महिलाको आत्मबल बढाउन आवश्यक छ । महिलाको आत्मबल कमजोर हो कि परिवेश नै कमजोर हो त ? यसमा चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको यस्तो भनाइ छ, ‘प्रकृतिको संरचनाले सबैलाई समान हक–अधिकार दिएको हुन्छ, कसैले कसैलाई भेदभाव गर्नु भनेर प्रकृतिले इजाजत दिएको होइन यो त समाजले निर्धारण गरेको हो । अरूलाई आफ्नो मातहतमा राख्ने, दास बनाउने पछि मात्र निर्माण गरिएको विकृत रूप हो । भासिनले भनेझैं महिला र पुरुषको भेदभाव हाम्रो समाजमा नै गडेर बसेको छ । यसको सुरुवात बाल्यकालदेखि नै हुन्छ ।
अभिभावकले छोरा र छोरीका लागि गर्ने व्यवहार नै फरक हुन्छ । छोरालाई बलियो, खुला, जहाँ पनि जानसक्ने, जुनसुकै काम गर्न सक्ने, राति खुला रुपमा हिँड्न सक्ने, जिम्मेवारी लिने रुपमा हुर्काइएको हुन्छ । जब कि छोरीलाई घरको कामकाजमा सीमित राख्ने, बाहिर निस्कन नदिने, कमजोर, कोमल र पुरुषमा भर पर्ने रुपमा हुर्काएको पाइन्छ । यसले पनि महिला र पुरुषमा बाल्यकालदेखि सोचमा नै फरकपन पाइन्छ, जसको असर पछिसम्म रहन्छ । जब कि समाजको विकासका लागि महिला र पुरुष दुवैको भूमिका र महत्व हुन्छ । तर यस बारेमा सिकाउन, बुझाउन कहिल्यै आवश्यक सोचिएको देयखिँदैन । समाजले पुरुषलाई मर्दको नाम ट्याग दिनुको मतलब महिलामाथि शासन गर, महिला त प्रकृतिले नै कमजोर बनाएको हुन्छ उसले सक्दिन जति सक्छौ उपभोग गर भनी सिकाइरह्यो अझै सिकाउँदै छ । महिलालाई शृंगार र घरको काममा अल्झाएर राख्ने नियम स्थापित गरियो जुन आजसम्म समाजमा राम्रोसँग स्थापित भएको छ । श्रीमान्, पुरुष, बुबा, भाइ नै किन नहोस् यी पात्र नभए जीवन नै नहुने धारमा महिलालाई उभ्याइएको छ । भासिनकै शब्दमा भन्ने हो भने पूँजीवादी बजारमा उत्पादन भएका कस्मेटिक सामग्रीले महिलाको शरीरमा राज गरे र महिलाका इच्छा, चाहना र क्षमतालाई शरीरबाट बाहिर फालिदिए । पुरुष भनेको दिमाग हो र महिला भनेको शरीर मात्र भन्ने सोचलाई कस्मेटिक सामग्रीको प्रयोग अनिवार्य गराइएको छ ।
एउटी महिला कपाल काट्छे, शृंगारमा रुचि राख्दिन, उसलाई उन्मुक्त हाँसो हाँस्ने बानी छ र उसले आफू जस्तो छे, जस्तो चाहन्छे उस्तै व्यवहार जीवनमा लागू गरी भने चरित्रहीन या तेस्रो लिङ्गी भनेर महिलाबाट समेत बर्खास्त गरिदिन्छ यही समाजले । के महिलाहरू पुरुषभन्दा कमजोर हुन्छन् त भन्ने प्रश्नमा कुनै पनि कारणबाट महिला पुरुषभन्दा कमजोर छैनन् भन्ने तर्क र केही खासखास कारणले महिला कमजोर छन् भनेर सामान्यीकरण गर्नु नै अनुचित देखिन्छ । किनभने कोही पुरुष अर्को पुरुषभन्दा सक्षम हुन सक्छ तर त्यही पुरुष कुनै महिलाभन्दा कमजोर पनि हुन सक्छ । त्यसैगरी, कुनै महिला अर्को महिलाभन्दा कमजोर तर अर्को पुरुषभन्दा सक्षम हुन पनि सक्छ । पुरुष र महिलाका विशिष्टतालाई दाँजेर गरिने यस्ता बहसले सही निस्कर्ष आउँदैन । नेपालकै सन्दर्भमा, इतिहासको कालखण्डलाई हेर्ने हो भने हरेक क्षेत्रमा नेपाली महिलाको योेगदान निकै छ ।
हाम्रो इतिहास हेर्दा नालापानीको युद्धमा होस्, योगमाया न्यौपानेले नेतृत्व गरेको जल समाधि विद्रोहमा होस् वा विराटनगर जुटमिल काण्डमा होस्, महिलाहरुले सधैं सशक्त नेतृत्व प्रदान गरेका छन् । यसले प्रष्ट पार्छ, विश्वका धेरै मुलुकमा महिलाहरु राजनीतिमा आई नेतृत्व गर्ने भनेर चर्चा मात्रै हुँदै गर्दा नेपालमा भने महिलाहरु राजनीतिक मैदानमै थिए । तर पनि महिलाको वास्तविक जीवन जस्ताको तस्तै छ । नेपालमा महिलाहरूमाथि सामाजिक, धार्मिक, सांस्कृतिक विकृति, विसंगतिहरूको थाती नै छ । यसको न्यायिक निराकरणको प्रयास न्यून मात्रामा भएको देखिन्छ । यो भन्नुको कारण फेरि सबै कुरा गलत देखाउनका लागि होइन, भएका प्रयासमा इमान्दारिताको अभाव खड्किएको छ । त्यसैले पनि हाम्रो समाज, परिवारले नै महिलाको आत्मबल कमजोर पार्न सकिन्छ । परिवेश नै त्यस्तो निर्माण गर्न खोजिएको छ ।
यसलाई हटाउन राज्यले विशेष ध्यान दिन आवश्यक छ । नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । तर, २१औँ शताब्दीमा समेत महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण महिलाको नेतृत्व स्वीकार हुने वातावरण बन्न सकेको छैन । महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको छ । तर, त्यसको कार्यान्वयनमा भने सरकार नै उदासीन जस्तो देखिएको छ । लैंगिक समानतालाई विकास र समृद्धिका सवालका रुपमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने तथ्यलाई विश्वले आत्मसात् गरिसकेको छ । यसलाई नेपाल सरकारले पनि मनन गर्न आवश्यक छ । जनधारणा साप्ताहिक