जनकपुरधाम । भारतको उत्तर प्रदेश सरकारको आयोजना जनकपुरधाममा दुई दिने अन्तर्राष्ट्रिय रामायण कन्क्लेभ आयोजना हुने भएको छ।
अन्तर्राष्ट्रिय रामायण एवं वैदिक शोध संस्थान, अयोध्याले शनिबार र आइतबार जनकपुरधाममा आयोजना गर्न लागेको कन्क्लेभमा नेपाल र भारतका साधुसन्त, भजन गायकलगायतका विभिन्न वक्ताहरु आउने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए।
शनिबार ‘विश्व कल्याणक सततवाही रामतत्व’ विषयमा भारतको आयोध्याधामबाट आउने जगद्गुरु विद्याभास्कर महाराज, सीतामढी विहारका सन्त शुकदेव दास ‘बगही सरकार’, वाराणसीका महन्त बालकदास महाराज वक्ताको रुपमा रहेका छन्।
नेपालबाट जानकी मन्दिरका महन्त रामतपेश्वर दास, उत्तराधिकारी महन्त रामरोशद दास, विराटगनरका जगद्गुरु रामानुजाचार्य र राम मन्दिर काठमाडौँका स्वामी डा. पुरुषेत्म आचार्य रहेको आयोजकले जनाएको छ। सोही दिन हुने साँस्कृतिक कार्यक्रममा अनुप जलोटाले भजन गायन गर्नेछन् भने नेपालको मिथिला नाट्यकला परिषद्ले जानकी लिला र भारतको मथुरा–आजमगढको बमरसिया एवं धोवियाले लोकनृत्य गर्ने कार्यक्रम रहेको छ।
यस्तै, आइतबार हुने कार्यक्रममा भारतको दिल्लीका चिराग जैन, वाराणसीका डा. अनिल चौबे, अम्बेडकरनगरका अभय निर्भीक, लखनऊकी सुफलता त्रिपाठी र सीतापुरका सौरभ जयसवाल वक्ता रहेका छन्। आइतबारसमेत मालिनी अवस्थीको उपस्थिति रहने आयोजकले जनाएको छ।
उत्तर प्रदेश सरकारले श्रीलंका, नेपाल र भारतको ६ वटा राज्य र राम वन गमन पथ गरी १० स्थानमा मंसिर १४ गतेदेखि चैत १५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको हो।