काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली लिएर महसुल नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न, सेयर कारोबार रोक्का गर्न र सेयर जारी गर्ने अनुमति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार गरेकाे छ ।
कार्यकारी निर्देशक घिसिङले विद्युत् प्रिमियम महसुल बक्यौता रहेका उद्योगका सम्बन्धमा बुधबार नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पत्र पठाएका हुन् ।
बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई, सेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारको कार्यालय र सेयर जारी गर्न अनुमतिमा रोक लगाउन धितोपत्र बोर्डलाई घिसिङले पत्र पठाएका हुन् । त्यसरी बक्यौता नतिर्ने उद्योगको सूची ती निकायलाई पत्रसँगै पठाइएको प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी बक्यौता जगदम्बा स्टिलले प्राधिकरणलाई १ अर्ब ६० करोड १८ लाख रकम तिर्न बाँकी रहेकाे तथ्य बाहिरिएकाे छ ।
त्यस्तै, मारुती सिमेन्टले ५७ करोड ४४ लाख, अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख महसुल तिर्न बाँकी छ भने रिलायन्स स्पिनिङ मिलले ७५ करोड ३६ लाख रकम तिर्न बाँकी छ ।