काठमाडाैं । उपनिर्वाचन-२०८१ का सन्दर्भमा निर्वाचन आयोगले गरेका निर्णयहरुको कार्यान्वयनको अवस्था, उपनिर्वाचन आचारसंहिताको पालना र उल्लङ्घनका विषयमा परेका उजुरी एवम् प्राप्त जानकारी र निर्वाचन व्यवस्थापनका विभिन्न पक्षहरुबारे नियमित रुपमा जानकारी लिई तत्कालै समस्या समाधान गर्ने उद्धेश्यले निर्वाचन सुरक्षा (व्वस्थापन) निर्देशिका, २०७८ को दफा ४ अनुसार आजदेखि निर्वाचन परिणाम घोषणा नभए सम्मको लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरिएको छ।
सो केन्द्रको संयोजन निर्वाचन आयोगका सचिव रविलाल पन्थबाट गरिएको छ भने सदस्यहरुमा आयोगको प्रशासन महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद सापकोटा, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी, नेपाली सेनाका महासेनानी सुवास खड्का, राष्ट्रिय अनुसन्धान विभागका सह-अनुसन्धान निर्देशक नरेशबहादुर शाह, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग बिजय सुवेदी, आयोगका उपसचिव दुर्गा प्रसाद चालिसे र सदस्य-सचिव आयोगका उपसचिव डा. थानेश्वर भुसाल रहनुभएको छ।
आसन्न उपनिर्वाचन-२०८१ को परिप्रेक्ष्यमा आचारसंहिताको पालना लगायतका कुनै पनि विषयहरुमा कुनै जानकारी वा गुनासो भएमा आयोगको कल सेन्टर ११०२ वा केन्द्रको फोन नम्बर ०१-५३२६३२६ मा सोझै सम्पर्क गर्न आयोग सबैमा हार्दिक अनुरोध गरेका छन् ।