नयाँदिल्ली । भारतीय कंग्रेस महासचिव प्रियंका गान्धी बाड्रा लोकसभा सदस्यमा विजयी भएकी छन् । केरलको वायनाड क्षेत्रको उपनिर्वाचनमा उनले भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का उम्मेदवार सथ्यन मोकेरीलाई ४ लाख १० हजारभन्दा बढी मतान्तरले विजयी भएकी हुन् ।
भारतीय निर्वाचन आयोगका अनुसार प्रियंकाले ६ लाख २२ हजार मत प्राप्त गरेकी छन् । दोस्रो स्थानमा आएका मोकेरीले २ लाख ११ र भारतीय जनता पार्टीकी नाभ्या हरिदासले १ लाख ९ हजार मत ल्याएकी छन् ।
गत असारमा सम्पन्न लोकसभा चुनावमा कंग्रेस नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेली र केरलको वायनाड दुवै क्षेत्रबाट विजयी भएका थिए । दुईमध्ये एउटा क्षेत्र छाड्नुपर्ने भएपछि गान्धीले वायनाड क्षेत्र छाडेर बहिनी प्रियंकालाई उम्मेदवार बनाएका थिए ।