दाङ । घोराही उप महानगरपालिकाले आन्तरिक राजश्व बृद्धिका लागि १ महिने घुम्ती व्यवसाय दर्ता तथा बहाल कर संकलन अभियान सञ्चालन गर्ने भएको छ । नगरको राजश्व बृद्धिका लागि व्यवसाय तथा बहाल कर महत्वपूर्ण हुने भएकाले मंसिर १० गतेदेखि लगातार १ महिनासम्म घुम्ति अभियान मार्फत व्यवसाय दर्ता गर्न थालिएको हो । घोराहीमा अझैपनि ३५ प्रतिशत बढि व्यवसाय दर्ताविना सञ्चालन भएको देखिएकाले त्यस्ता व्यवसाय सञ्चालन भएको ठाँउमा पुगेर नै दर्ता गर्ने व्यवस्था गरिएको घोराही उप महानगरपालिका,बजेट तथा राजश्व व्यवस्थापन शाखाका अधिकृत कुमार खड्काले जानकारी दिनुभयो । अभियानमा व्यवसायको पूँजि अनुसार एक वा दुई आर्थिक बर्षको कर लिएर दर्ता प्रक्रियामा ल्याईने छ । बिना दर्ता सञ्चालन भएका व्यवसायहरू दर्ताका लागि राजश्व गस्ती परिचालन,बिभिन्न सञ्चार माध्यम मार्फत सूचना प्रकाशन तथा प्रसारण, वडा तथा टोलविकास संस्था मार्फत अनुरोध गर्दापनि अटेर गर्ने व्यवसायीहरुको घुम्ती अभियान मार्फत ठाउको ठाउँ व्यवसाय दर्ता गर्ने र अटेरी गर्नेलाई कानून बमोजिम कारबाही समेत गरिने शाखा प्रमुख कृष्ण कुमार के सी ले जानकारी दिनुभयो । राजश्वका शीर्षक अन्तरगत व्यवसाय कर,घर बहाल कर र बहाल बिटौरी शूल्क सोचे अनुरूप संकलन हुन नसकेको भन्दै यी क्षेत्रलाई ध्यानमा राखेर यस बर्ष कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो । यसैविच घोराही उप महानगरपालिकाले वडा तथा नगरमा राजश्वमा काम गर्ने कर्मचारी र वडा सचिवलाई राजश्व व्यवस्थापन सम्वन्धि तालिम दिन थालेको छ ।
नगरले चालु आ.व.मा राजश्व संकलनका लागि राखेको लक्ष्य पुरा गर्न सहयोग पुगोस भन्ने उद्धेश्यले तालिम आयोजना गरिएको हो । घोराहीले चालु आ.व.२०८१÷०८२ मा ५५ करोड आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा बोल्द घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जनताले तिरेको करले नै जनताको सुविधाका लागि खर्च हुने बताउनुभयो । उप महानगरपालिकाको बजेट तथा राजस्व व्यवस्थापन शाखाले वडा कार्यालयहरुमा कार्यरत राजस्व संकलनमा खट्ने कर्मचारी र वडा सचिबहरुका लागि राजस्व व्यवस्थापन सम्बन्धी क्षमता अभिबृद्धी तालिममा नगर प्रमुख चौधरीले नागरिकहरुलाई कुनै गुनासो विना कर बुझाउने बाताबरण बनाउन वडा कार्यालयहरुलाई आग्रह गर्नुभयो । जनताबाट संकलित करले नै तिनै जनताको चौतर्फि विकासमा खर्च हुने भएकाले नागरिकहरुलाई कर बुझाउन तर्फ उत्प्रेरीत गर्ने बाताबरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
नगरको आन्तरिक श्रोत बलियो भएमा मात्र पूर्वाधार तथा सामाजिक विकासका काम गर्न सकिने भन्दै उहाँले नागरिकलाई खुसी बनाएर कर संकलन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । भोली सम्म चल्ने कार्यक्रममा राजश्व संकलन प्रक्रियामा आइपरेका समस्या समाधान,राजश्व संकलन सफ्ट्वेयर सञ्चालन,घर अभिलेखीकरण,राजश्व बैंक दाखिला लगायतका विषयमा जानकारी गराइने छ । नगरका १ देखी १० नम्वर वडाका सचिव र राजश्व संकलनमा काम गर्ने कर्मचारी गरी ३० जना बढिको सहभागिता रहेको तालिमको सहजीकरण शाखा प्रमुख कृष्ण केसी र अधिकृत कुमार खड्काले गरिरहनुभएको छ ।
विमल योगी