लोकनारायण सुबेदी
ऐतिहासिक राजनीतिक पुनरागमन गरे पछि आत्मबिश्वासले भरिएको जस्तो हाउभाउ गर्ने डोनाल्ड ट्रम्प अमेरिका पहिलो अर्थात ‘अमेरिका फस्र्ट’ बनाउने योजनामा के कसरी र कत्तिको तल्लिन देखिने हुन् त्यो भोलिको हेर्दै जाने कुरा होला । अहिले आरम्भमा सर्सरी हेर्दा उनले बनाउने क्याबिनेटमा जस्ता ब्यक्तिहरु सहयोगीकोरुपमा चयन गरिरहेका छन् त्यसले भावी अमेरिका बद्लिएकोरुपमा अगाडि आउने एकथरी बिश्लेषकहरुले औंल्याउन थालेका छन् । आशा र आकांक्षाले परिपूर्ण भनेर उनीहरुले मानिरहेका ट्रम्पलाई लिएर अनेकौं सन्देहरु पनि प्रबल किसिमले प्रकट भएका छन् । ट्रम्प आर्थिक सयोगमा आधारित रणनीतिक सहभागितालाई अमेरिकी जनताको पैसाको दुरुपयोग भएको मान्दछन् । अनि त्यसलाई अनाबश्यक ठान्दछन् । ट्रम्पले नाटोमा अमेरिकी सहगभागीतालाई पनि पुनर्बिचार गर्ने र केही अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई पनि कम गर्ने राय समेत दिइसकेका छन् ।
डोनाल्ड ट्रम्पले आफ्नो क्याबिनेट गठन गर्ने क्रममा मार्क रुबियोलाई बिदेश मन्त्री बनाएका छन् । रुबियोले अमेरिका पहिलो –‘अमेरिका फस्र्ट’ भन्ने ट्रम्पको दृष्टिकोणकासाथ कतिपय बिश्व मञ्चहरुमा बोल्दा अमेरिकाले पुनःसम्मान हासिल गर्ने कुरा बोलिसकेका छन् । उनले चीन, इरान र क्यूबा समेत अमेरिकी भू–राजनीतिक कथित दुश्मनहरुको सम्वन्धमा सशक्त बिदेश नीतिको वकालत गर्ने गर्दछन् । अहिले एकथरी भारतीय उनको भारतप्रतिको दृष्टिकोणलाई निकै सकारात्मक किन मान्दछन् भने अमेरिकी बिदेश नीतिमा निकै ठूलो परिबर्तन गरेर ट्रम्पले भारतलाई जापान, इजरायल,दक्षिण कोरिया र नाटोलाई दिए बराबरको समकक्षमा राख्ने कुरा उल्लेख गर्दछन् । अर्को के पनि औंल्याउँद छन् भने रुबियो पाकिस्तानको आतंकबादलाई बढावा दिने कोशिशका कारण पाकिस्तानलाई दिइने गरेको सुरक्षा सहायता रोक्ने पक्षमा रहेका छन् । रुबियो इजरायललाई दिइनेगरेको सहयोगलाई भने अझ बढाएर इरानलाई पाठ पढाउने कुराको हिमायती हुन् । यसको गम्भीर असर मध्यपूर्बमा देखिन सक्छ ।
ट्रम्पले अरकान्सस राज्यका पूर्ब गभर्नर माइक हकबीलाई इजरायलका लागि अमेरिकी राजदूतकारुपमा अगाडि सारेका छन् । उनी इजरायलका अत्यन्तै कट्टर समर्थका मानिन्छन् र इजरायलले कब्जा गरेको पश्चिम किनाराका इजरायली बस्तीको रक्षक पनि मानिन्छन् तर अधिकांश अन्तर्राष्ट्रिय समुदायले त्यसलाई अबैध र अन्यायपूर्ण मानिरहेका छन् । इस्लामिक संगठनका साऊदी अरब, कतार र संयुक्त अरब इमिरेट्स(यूएई) र बेहरीन जस्ता अमेरिकाको रणनैतिक सहयोगी मानिएका देशहरुले इरानमाथि इजरायली हमलाको आलोचना गरिसकेका छन् । तिनले इस्लामिक संगठनको सम्मेलनमा भनेका पनि थिए कि ट्रम्प प्रशासनसँग एउटा ब्यापक दृष्टिकोण राख्नुपर्ने आवश्यकता छ । प्रतिकृयाबादी किसिमका र टुक्रा टुक्रा किसिमका नीतिबाट काम चल्दैन । यस प्रकारको स्थितिमा नया बिदेश मन्त्री तथा अमेरिकी राजदूत माइक हकबीका सामुमा मध्यपूर्बमा अमेरिकी हितको रक्षाका लागि सन्तुलन कायम गर्नु निकै ठूलो चूनौतिपूर्ण कार्य हुने देखिदैछ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार पदमा ट्रम्पले माइक वाल्ट्जमाथि बिश्वास र भरोसा गरेका छन् । तिनले अमेरिकाको नेशनल गार्डमा कर्नेलको रुपमा पनि काम गरिसकेको बताइएको छ । तिनले एशिया–प्रशान्त क्षेत्रमा चिनीयाँ गतिबिधिको आलोचना पनि गर्दै आएका हुन् । अनि त्यस क्षेत्रमा सम्भावित संघर्षका लागि अमेरिकालाई तयार रहनुपर्ने आवश्यकतामाथि पनि बिशेष जोड दिएका छन् । अमेरिकाको बैदेशिक नीतिको प्रतिनिधित्वमा पनि चीनको बिरोध नै देखा पर्दछ । कुरा स्पष्ट छ कि चीन र अमेरिकाका बीच प्रतिद्वन्द्वीता बढ्नुकासाथसाथै तनाव पनि अझ बढ्न सक्ने छ । चिन हङ्गकङ्गप्रतिको प्रतिकृयालाई लिएर चीन रुबियोसँग पहिलेदेखि नै अप्रसन्न छ र उनीमाथि चीनले कयौं प्रतिबन्धहरु पनि लगाइराखेको छ ।
ट्रम्पले लाखौं लाख आप्रबसीहरुलाई लक्षित गरेर अहिलेसम्मकै सबैभन्दा ब्यापक निर्बासन प्रयास शुरु गर्ने त कसमै खाइसकेका छन् । आप्रबासनलाई रोक्नका लागि उनी कुनै पनि हदसम्म जान सक्ने कुरा उनले पटक पटक प्रकट गरिसकेका छन् । हेर्दा पनि उनले त्यसको जिम्मा क्रिष्टी नोएमलाई सुम्पिएका छन् । ट्रम्पले नोएमलाई उनको प्रशासनको गृह सुरक्षा सचिवको लागि मनोनयन गरेकाहुन् । उनी होम ल्याण्ड सुरक्षा बिभाग, सीमा सुरक्षा र आब्रजनदेखि लिएर बिपद प्रतिकृया र अमेरिकी सेक्रेट सर्भिससम्म ती हरेक कुराका लागि जिम्मेवार रहनुपर्छ । होमान देशको सीमा प्रभारी हुने भनिएको छ । उनी अबैध आप्रबासीहरुलाई फिर्ता पठाउने कुरामा दृढ मानिन्छन् । आप्रबासनलाई लिएर अमेरिकी कडा नीतिहरुसँग उनको सम्वन्ध ल्याटिन अमेरिका, मध्य एशिया र भारतसँग अझ खराब हुनसक्छ । त्यसको असर भने अमेरिकी अर्थब्यवस्था र उसका रणनैतिक साझेदारहरुमाथि पनि पर्न सक्ने औंल्याइदैछ । सीआईए प्रमुखका रुपमा पूर्ब अमेरिकी गुप्तचर रहेका जान रेटिक्लफलाई ट्रम्पले रुचाएका छन् । उनी ट्रम्पका बफादार समर्थक पनि मानिन्छन् । अनि उनी गुप्तचर र राष्ट्रिय सुरक्षामा उनको कामका लागि चिनिएका खारिएका ब्यक्तिमा पनि गनिन्छन् । रेटिक्लफले गुप्तचरीका मामिलामा ट्रम्पको शीर्ष सल्लाहाकारको रुपमा काम पनि गरिसकेका छन् र ट्रम्पको एजेण्डालाई अघि बढाउने भूमिका निभाइसकेका छन् । उनले अमेरिकी निर्वाचनहरुमा बिदेशी हस्तक्षेपका प्रयासहरुको पनि उजागर गरेका हुन् । अनि उनी ईरान, चीन र रुसका प्रमुख आलोचकहरुमध्ये एक पनि हुन् । अमेरिका र यूरोपका बीच बढ्दो दूरी, रुस–यूक्रेन युद्ध अनि मध्यपूर्बमा अमेरिकी सैन्य अखडामाथि हमलाको आशंकाहरुका बीच रेिटक्लिफलाई अमेरिकाको गुप्तचर परिदृष्यलाई आकार दिनमा महत्वपूर्ण भूमिका निर्बहन गर्नसक्ने मानिएको छ । ट्रम्पले सांसद तुलसी गबार्डलाई नेशनल इण्टेलिजेन्सको डाईरेक्टरको रुपमा अघि सारेका छन् । त्यस बिभागले अमेरिकामा सम्पूर्ण गुप्तचर एजेन्सीहरुको काम कारबाही हेर्ने गर्दछ । गबार्ड पाकिस्तानको आलोचक पनि रहेकी हुन् । ट्रम्पले चुनाब प्रचारका बेला बंगलादेशमा अल्पसंख्यमाथि अत्याचारको निकै आलोचना पनि गरेका थिए । यसैले पनि तुलसी गबार्ड बंगलादेशकाप्रति निकै कडा हुन सक्ने देखिन्छ । अनि त्यसको फाइदा अपदस्त सरकार प्रमुख शेख हसिनालाई हुन पनि सक्ने अडकल काटिदैछ ।
अनि ट्रम्पले अमेरिकी प्रशासनिक ब्यबस्थामाथि बलियो पकड जमाउने जिम्मेवारी एलन मस्क र बिवेक रामास्वामीलाई सुम्पिएका छन् । रामास्वामीले एफबीआईको आलोचना गर्दै आएका हुन् । अमेरिकामा संघीय एजेन्सीहरुलाई परिबर्तन गर्ने कोशिश काग्रेसमा ब्यापक आलोचनाको कारण या बिबादको बिषय पनि बन्नसक्छ ।अनि यो सीआईका लागि पनि स्वीकार्य न होला । ट्रम्पका नीतिहरु र मनशायप्रति त्यहाँका गुप्तचर एजेन्सीहरुले पहिले नै पनि प्रश्न उठाइसकेका हुन् । त्यसबाट अमेरिका अभूतपूर्ब संकट र टक्कर बढ्न पनि सक्छ ।
हुन त अमेरिकामा क्याबिनेट या मन्त्रिमण्डलको स्थिति बिश्वका अन्य शासन ब्यबस्थाभन्दा अत्यन्तै भिन्न र खाश प्रकारको मानिन्छ । बिश्वको त्यो सबैभन्दा शक्तिाशाली देशमा मन्त्रिमण्डलका सदस्यहरु संसदका कुनै पनि सदनको सदस्य हुँदैनन् न सदनप्रति उत्तरदायी नै हुन्छन् । तिनीहरु केवल राष्ट्रपतिप्रति उत्तरदायी हुन्छन् ।यसैले स्पष्ट छ कि यो क्याबिनेट ट्रम्पका लागि त सहज होला तर ट्रम्प स्वयं र तिका मन्त्रिमण्डलका सदस्यहरुको आक्रामकताले भरिपूर्ण राजनीतिक समूहका कारण अमेरिकाको भबिष्य भने अनेक प्रश्नहरुको घेराबन्दीमैं छ । यी सबै परिप्रेक्षले स्थिति बरु अझ असहज नै हुने देखिन्छ ।