काठमाडौं । सोमबार कार्यालय खुल्ने बेलामा सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने निर्णय गर्यो। मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र सार्वजनिक बिदासमेत दिने निर्णय गरेको छ।
आइतबार दिउँसो निधन भएका पूर्वसभामुख ढुंगानाप्रति सम्मान दर्शाउन सरकारले ढिलो गरी बिदा दिँदा सर्वसाधरणले असन्तुष्टि जनाएका छन्।
अधिकांश सरकारी कर्मचारी र सेवाग्राही कार्यालय जान घरबाट हिँडिसकेको अवस्थामा मन्त्रिपरिषदले अप्रत्यासित रुपमा बिदा जनजीवन नै बिथोलिन पुगेको छ। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुगेका कर्मचारी बिदा सुनेपछि एकैपटक बाहिरिँदा आसपासको क्षेत्रमा सडक जाम नै हुन पुग्यो।
अप्रत्यासित बिदाप्रति आम सर्वसाधरणले आक्रोश व्यक्त गरेका छन्। यसपटक मात्रै होइन यसअघि पनि सरकारले कुनै विशिष्ट व्यक्तिको निधन हुँदा, दुर्घटना वा ठूलो दैविक प्रकोप पर्दा शोक मनाउने माध्यम सार्वजनिक बिदालाई बनाउँदै आएको छ।
अझ हवाइ दुर्घटना हुँदा त झन सरकारले केही बेरमै राष्ट्रिय जनजीवन नै प्रभावित हुने गरी बिदा दिएर शोक मनाउने निर्णय गरिहाल्छ। यसरी सम्मान वा शोक मनाउने बहानामा सोच विचार नै नगरी बेला न कुबेला बिदा दिने अभ्यासप्रति आम सर्वसाधरण भने आक्रोशित छन्।
सोमबारको अप्रत्यासित बिदा दिएपछि पूर्वसचिव कुष्ण ज्ञवाली बिदा दिएर शोक मनाउने चलन तोड्न आवश्यक रहेको बताउँछन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले कर्मचारी बाहेक बाँकीलाई खुसी नपार्ने बिदाको चलनलाई अन्त्य गर्नुपर्ने बताएका छन्।
‘बिदा दिएर शोक मनाउने प्रचलन तोड्न पर्यो। यसैपनि कामको उत्पादकत्व न्यून भएको हाम्रोजस्तो मुलुकमा कर्मचारीबाहेक कसैलाई प्रिय नलाग्ने यो परम्परालाई किन जीवित राख्ने?,’ ज्ञवालीले अगाडि भनेका छन्, ‘कार्यालय खुला राखेर बरु स्मृति सम्मानस्वरूप संक्षिप्त श्रद्धान्जलि कार्यक्रमसँगै दैनिकी सुरु गर्न सकिन्छ।’
प्राध्यापक दिवाकर रेग्मीले कार्यालय पुगेर हाजिर गरेपछि बिदा थाहा पाएकोमा देशको व्यवस्थापनप्रति खिन्नता प्रकट गरेका छन्। उनले ट्वीटरमा भने, ‘इटहरीबाट धरान गएर क्याम्पसमा हाजिर गरेपछि थाहा भयो आज सार्बजनिक बिदा रहेछ । नोम चम्स्किलाई सम्झेर व्यवस्थापनकै कारण देश पछिपरेको मनन गरी घर फर्किएँ ।’
पत्रकार नारायण अमृत सार्वजनिक बिदाको सवालमा सरकारले गतल गरेको ठान्छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यो सार्वजनिक बिदाबारे जुनसुकै सरकारको पनि मति नसुध्रने भयो। दिवंगत आत्माप्रति श्रद्धासुमन दिन शोक बिदा दिनै पर्ने हो र? यो त लाखौं सेवाग्राहीलाई दुःख दिने, विद्यार्थी, कर्मचारी र सिंगो संयन्त्र ठप्प पार्ने काम भएन र। यसले शोकमाथि थप सन्तप्तता थप्ने काम भयो कि जस्तो लाग्यो मलाई त।’
अर्का पत्रकार अरुण बरालले बिदाका कारण देशलाई पर्ने घाटाबारे सरकारले बेवास्ता गरेको टिप्पणी गरेका छन्। उनले बिदाको औचित्य खोज्न सरकारलाई सुझाव दिएका छन्। बरालले भने, ‘हिजो रातभर सुतेको सरकारले आज कार्यालय खुल्ने बेलामा ‘विदा’ घोषणा गर्नु कति उचित हो? एकदिनको नेपाल बन्दले देशलाई कति घाटा हुन्छ? जनतालाई कति मर्का पर्छ? बेहोसी सरकारले सोचेन। अब ‘मृत्यु-बिदा’बारे कानून बनाउने कि? हार्दिक श्रद्धाञ्जली दमन दाइ !’
धेरै सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले पनि सरकारले सोच विचार नै नगरी दिएको बिदाको विरोध गरेका छन्। रोशन खड्काले सम्मानका लागि बिदा दिने निर्णयप्रति व्यंग्य गर्दै भनेका छन्, ‘सम्मान दिनको लागि सार्वजनिक विदा दिनैपर्ने रहेछ ? त्यही पनि १० वजे आएर ? रामराम यो देश।’
त्यस्तै प्रवेश सुवेदीले समाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै भनेका छन्, ‘बिदा भनेको सुन्दा झनक्क रिस उठेको मलाई मात्र हो कि?’
रञ्जित तामाङ अप्रत्यासित बिदाले भुइँमान्छेमा पर्ने मर्काप्रति सरकार असंवेदनशिल बनको टिप्पणी गर्छन्, ‘अनि जिल्ला सदरमुकामको मालपोत, अदालत, प्रहरी कार्यालय लगायतका सरकारी अड्डा धाउने कति भूइँमान्छे बिचल्लीमा परे होलान्? भूइँमान्छेका बारे सोचेर निर्णय गर्नुपर्छ भन्ने चेत सरकारमा बस्नेहरूलाई कहिल्यै आएन।’