काठमाडौं । पाँचथरमा जन्मेर साहित्य साधनामा जमेका युवा साहित्यकार एन.बी.अन्जानको ‘अन्जान एकल साँझ’ गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको सर्वनाम थिएटरमा दर्जनौँ साहित्यकार, दर्शक, श्रोता तथा मिडियाकर्मीहरूको बीचमा एकल गजल साँझ, गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको हो ।
कवि प्रज्वल अधिकारीको संयोजन तथा गोधूलि साहित्य प्रतिष्ठानको आयोजनामा गरिएको कार्यक्रम सञ्चालन तथा सहजीकरण चर्चित गजलकार बाबु त्रिपाठीले गरेका थिए भने गायनमा राज सागरले अन्जानलाई साथ दिएका थिए ।
लामो समयदेखि लेखन तथा साहित्य क्षेत्रमा क्रियाशील अन्जानले आफ्नो गजल वाचन गरिरहँदा हलबाट वान्स् मोरको वर्षासमेत भएको थियो ।चुपचाप साधनामा रहेर हल्लाभन्दा बाहिर बसेर गजलकार अन्जान सिनेमाको लेखन र निर्देशनसमेत गर्छन् ।
अन्जानले ‘मरुभूमि साहित्य यात्रा’ गजल सङ्ग्रह, ‘आहुति’ गजल संग्रह, ‘आधा इन्च’ हाइकु (एसिया कै सानो कृति), ‘कोपिला’ नेपाली भाषाको पहिलो रुबाई महाकाव्य जस्ता चर्चित पुस्तकहरू प्रकाशित गरिसकेका छन् ।