काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बन्ने तयारी गरेकी सुजाता थापालाई डर धम्की दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगसमक्ष लिखित रूपमा निवेदन दिँदै उक्त कार्यमा संलगन्हरूलाई कारवाहीको माग गरेका छन्।
आयोगसमक्ष दिइएको उजुरीमा सुजाता र उनको श्रीमान बल थापालाई ४०-५० जना युवाहरुको समूहले घरबाट लछारपछार गर्दै लगिएको र उक्त कार्यमा कांग्रेसका कार्यकर्ता संलग्न रहेको दाबी गरिएको छ।
यस्तै मधेश प्रदेशमा पनि उम्मेदवारी दिने तयारीमा रहेका आफ्ना कार्यकर्ता र परिवारलाई डरधम्की देखाइएको रास्वपाले बताएको छ।
‘लोकतन्त्रको महत्वपूर्ण पक्ष स्थानीय तह उपनिर्वाचनमा पहिलोपटक सहभागी हुन लागेको संसदको चौथो ठूलो राजनीतिक दलप्रति भएको निकृष्ठ अलोकतान्त्रिक क्रियाकलापप्रति सम्मानित निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछौं। यस घटनाले हामीलाई साह्रै दुःखी बनाएको त छ नै। साथै निर्वाचन प्रक्रियाप्रति नै आम जनमानसमा अविश्वास र त्रास समेत सिर्जना गरेको छ’, रास्वपाले भनेको छ।