काठमाडौं । ललितपुर महानगरपालिकामा किसानले पालेका बंगुरमा ‘स्वाइन फिभर’ देखिएको छ ।
महानगरपालिका अन्तर्गत २२ नम्बर वडास्थित चुनिखेल, नख्खु करिडोर क्षेत्रका किसानले पालेको बंगुर/संगुरमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो ।
‘२५ कात्तिकमा केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोट अनुसार सो क्षेत्रका किसानले पालेका बंगुर र सुंगुरमा स्वाइन फिभर’ पुष्टि भएको हो,’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
ललितपुर महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा किसानले पालेका बंगुर र सुंगुरमा रोग फैलन नदिन उच्च सतर्कता अपनाउन समेत महानगरले अनुरोध गरेको छ ।
महानगर पशु सेवा शाखाका अनुसार नख्खु करिडोरको एक कृषि फर्ममा ६०–७० वटा बंगुर मरेपछि परीक्षणका लागि नमूना केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको थियो ।
परीक्षणका क्रममा मरेका बंगुरमा स्वाइन फिभर पुष्टि भएको शाखा प्रमुख राजेन्द्र विष्टले जानकारी दिए ।
‘धेरैवटा पशु मरेपछि परीक्षणका लागि पठाएको थियौं, आज रिर्पोट आउँदा स्वाइन फिभर देखिएको हो,’ विष्टले जानकारी दिए ।