काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश आउनसक्ने संकेत गरेका छन् ।
बिहीबार कान्तिपुर कन्क्लेभमा संवाद गर्दै उनले अहिले दल त्यागसम्बन्धी कानुन रिक्त रहेकाले केही न केही गर्नुपर्ने आवश्यक्ता रहेको बताएका हुन् ।
उनले अध्यादेश नै नआउँदा पनि कांग्रेस–एमालेसँग दुई तिहाई बुहमत रहेको र राष्ट्रिय सभाले पारित नगरेपनि प्रतिनिधि सभाबाटै कानुन बनाएर देखाइदिने चेतावनी दिए । ‘अहिले दल त्यागसम्बन्धी कानुन रिक्त छ ।
नियमावलीमात्रै कायम छ । नियमावलीको भरमा अहिले चल्नुपरेको छ । केही न केही त गर्नुपर्छ । अहिले गरौं या पछि । साथीहरुलाई के त्रास छ भने– अध्यादेश आउँछ ।
अध्यादेश आएन भनेपनि कानुन बनाउने हकमा नेपाली कांग्रेस र नेकपा (एमाले) सँग झण्डै दुई तिहाइको स्थिति छ । कानुन बनाउनका लागि प्रतिनिधि सभाबाट गर्न नसक्ने होईन ।
राष्ट्रिय सभाले अस्वीकार गर्दा पनि फेरि प्रतिनिधि सभाले त्यसमाथि विचार गरेर कानुन बनाउन सक्छ,’– उनले भने ।