काठमाडौं । व्यवसायी एवम् भाटभटेनी सुपर स्टोरका मालिक मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्ध परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ ।
न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा अन्तरिम आदेश दिने-नदिने छलफलका लागि सोमबार तोकिएको पेशी हेर्न नमिल्नेमा राखिएको हो । न्यायाधीश सुवेदीले यसअघि भाटभटेनीका सम्बन्धमा परेका मुद्दा हेरिसकेका कारण यो मुद्दा हेर्न नमिल्नेमा परेको हो । यसअघि कात्तिक ८ गते पनि यो मुद्दाको सुनुवाइका लागि नहकुल सुवेदीको इजलासमा तोकिएको पेशी हेर्न नमिल्नेमा राखिएको थियो ।
यस मुद्दामा कात्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ र अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्काल उक्त जग्गामा कुनै संरचना नबनाउन आदेश दिएको थियो ।
निवेदक अधिवक्ताहरू ज्ञानबहादुर बस्नेत, श्यामकृष्ण मास्के र अर्जुन थापाले एमाले र भाटभटेनीका सञ्चालक गुरुङलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
भाटभटेनीका सञ्चालक गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालय बनाउन जग्गा दान गरेका थिए । पार्टी कार्यालय भवन बनाउन दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन् ।
कीर्तिपुर नगरपालिकाको मैत्रीनगरस्थित ढुंगेअड्डामा १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बनाइदिएर अर्को दसैंको घटनास्थापनामा साँचो हस्तान्तरण गर्ने गरी गुरुङले जिम्मा लिएका थिए । त्यहाँ ओलीसहितका एमाले नेताको उपस्थितिमा कार्यालय भवन शिलान्यास पनि भइसकेको छ । तर उक्त जग्गालाई लिएर एमाले नेतृत्वको चर्को आलोचना भएको थियो ।