काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले सरकार ठिक ढंगले अघि बढिरहेको निष्कर्ष निकालेको छ । शनिबार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको सचिवालय बैठकले सरकारको ४ महिने कार्यकालको समीक्षा गरेको हो ।
बैठकमा नेपाली कांग्रेससँगको गठबन्धनबिचको समझदारीलाई अझ प्रगाढ बनाएर लैजाने विषयमा छलफल भएको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले भने, ‘बैठकमा सरकारको चार महिने कार्यकालको समीक्षा गरेका छौँ । सरकारले आधारभूत रूपमा ठिक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष छ । दुई राजनीतिक दलबिच समझदारीलाई प्रगाढ बनाउन र काममा अझै बढी समन्वय ल्याउनका निम्ति विश्वासको वातावरणलाई सुदृढ गर्दै लैजाने कुरामा छलफल भएको छ ।’
यस्तै भारत र चीन दुवै छिमेकी देशसँग राष्ट्र हितलाई ध्यानमा राख्दै सम्बन्ध अगाडि बढाउनुपर्छ भन्ने बैठकको निचोड रहेको उनले सुनाए । प्रधानमन्त्री ओलीको डिसेम्बर पहिलो हप्ता हुने चीनको भ्रमणको बारेमा पनि छलफल भएको र सो भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा प्रयोग गर्नका लागि सरकारलाई शुभेच्छा व्यक्त गरेको ज्ञवालीले जानकारी दिए ।