काठमाडौं। झापाको मेचीनगरबाट कांग्रेसको युवा संकल्प यात्रा सुरू भएको छ। कांग्रेस नेता भूपेन्द्रजंग शाहीलगायतको समन्वयमा युवा मेचीनगरदेखि महनेन्द्रनगरसम्म संकल्प यात्रा सुरू भएको हो।
कांग्रेस झापाका सभापति देउमान थेवेले पार्टीको झन्डा यात्राका नेतृत्वकर्ता शाहीलाई हस्तान्तरण गरेर यात्रा शुभारम्भ गरेका हुन्। सो कार्यक्रममा क्षेत्रीय सभापति ईन्द्र बुढाथोकी र नगर सभापति सुदेश पनेरूलगायत नेता तथा कार्यकर्ताहरू सहभागी रहेका थिए।
भ्रष्टाचार उन्मुलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न एजेन्डाहरूमा केन्द्रित रहेर पूर्व-पश्चिम संकल्प यात्रा सुरू गरिएको शाहीले जनाए।
सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने पनि शाही जनाउँछन्।
सहकारी पीडितलाई तत्काल राहत तथा बचत फिर्ता गरिनुपर्ने, उद्यमशीलता, नवप्रवर्तन तथा कृषिमा लगानी वृद्धि गरिनुपर्ने, सहकारी बचत ठगी गर्नेलाई कारबाही गरिनुपर्ने पनि उनले जनाए।
‘गल्ती गर्नेहरू जेल जान्छन् यसमा आग्रह र पूर्वाग्रह भन्ने हुँदैन। हामी सरकारलाई आग्रह गर्दछौं- सहकारी बचत दुरूपयोग गर्ने जुनसुकै पार्टी भए पनि कारबाही गरिनुपर्छ,’ मेचीनगरमा शुक्रबार भएको कार्यक्रममा शाहीले भने, ‘वाइडबडी, गिरीबन्धु टीइस्टेटलगायत काण्डबारे पनि यो सरकारले छानबिन गरोस्।’
सहकारीमा नागरिकहरूले गरेको बचत फिर्ता हुनुपर्ने पनि उनले बताए। जनताको जीवनशैली परिवर्तनका लागि राजनीति केन्द्रित हुनुपर्ने शाहीले बताए। ‘महँगी, मूल्यवृद्धि नियन्त्रणमा पनि सरकारले पहल गरोस्,’ उनले भने।