काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएसँगै सबैजसो अन्तर्राष्ट्रिय गन्तव्यहरूको हवाई भाडा अत्यधिक महँगो भएको छ ।
केही गन्तव्यको भाडा तीन गुणासम्म महँगो भएको यात्रुहरूले गुनासो गरेका छन् । केही समय अघिसम्म काठमाण्डाैबाट साउदी अरेबियाका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँ रहेको भाडा अहिले एक लाख ६ हजार रुपैयाँभन्दा धेरै छ । यसअघि बढीमा ४० हजार रुपैयाँ पर्ने काठमाडाैं–मलेसियाको न्यूनतम टिकट मूल्य अहिले ७४ हजारदेखि एक लाख ८२ हजार रुपैयाँसम्म छ । ३० देखि ४० हजार रुपैयाँ पर्ने काठमाण्डौ–दुबईको टिकट मूल्य अहिले एक लाख तीन हजारदेखि एक लाख २४ हजार रुपैयाँसम्म छ ।
टिकटको मूल्य बढ्दा श्रमका लागि विदेश जानेहरू समस्यामा परेका छन् । श्रमिक मर्कामा परेपछि रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले जनाउनुभयो ।
यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा र भैरहवाबाट उडान गर्ने अनुमति दिने काम भइरहेको भन्दै ती विमानस्थलबाट उडान शुरू भएपछि भाडा घट्ने जनाउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि थाई एअर एशिया, फ्लाई दुबई र जजिरा एअरलाइन्सको उडान तालिका स्वीकृत भइसकेको उहाँले बताउनुभयो ।