काठमाडौं। नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले दर्शकको उत्साहजनक साथ पाएसँगै सो थपिने क्रम जारी छ ।
दर्शकबाट माग बढेपछि चलचित्र हलहरूले बिहानदेखि मध्यरातिसम्म यसको सो उपलब्ध गराएका छन् ।
देशको ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले चलचित्रलाई बिहान ७ बजेदेखि मध्यरातिसम्मको सो दिएको छ ।
आइएनआई, बिग मुभिज, वान सिनेमाज, एफक्युब, सिडिसीलगायतका हलमा पनि चलचित्रको सो बढेका छन् । बुधबार बिहानैदेखि चलचित्रको सो हाउसफुल थिए भने बिहीबारको बुकिङ पनि राम्रो देखिएको छ ।
विजय बराल अभिनीत यो चलचित्र लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको हो । चलचित्रले पाँच दिनमा (सोमबारसम्म) चार करोड ८७ लाख रुपियाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ ।
छोराको भविष्यका लागि बुवाले गर्ने सङ्घर्षको कथामा निर्माण भएको चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन रहेको छ ।
विजयसँगै प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, माओत्से गुरुङ, अलिशा बाँस्तोला, स्वयम् केसीलगायत कलाकारको अभिनय छ ।