माेरङ । विराटनगरमा जुवा खेलिरहेको अवस्थामा १० लाख रुपैयाँसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगर ११ स्थित संगम पार्टी प्यालेसमा शुक्रबार राती करिब १० बजे यातायात व्यावसायी, ब्यापारी तथा राजनीतिक दलका नेताहरूसित १० जनालाई मोरंग प्रहरीले पक्राउ गरेको हो।
माेरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा आलु प्याजका थोक विक्रेता ५७ वर्षीय पशुपति भगत, यातायात व्यावसायी ६१ वर्षीय राजन कँडेल, ध्रुव सिग्देल, टुनटुन शर्मा, लिला सहनी, मनिराज प्रसाई, विरेन्द्र साह, सुरेन्द्र ठाकुर, बाबुराम कटेल, र पार्टी प्यालेस सञ्चालक पदम श्रेष्ठ रहेका छन्। प्रहरी प्रवक्ता जोशीका अनुसार जुवा खालबाट ५ बुंग ताससहित १० लाख ६ हजार ९ सय ९५ रुपैयाँ बरामद भएको छ।
राती पक्राउ परेसँगै विराटनगरका राजनीतिक दल र वडाका अध्यक्षले समेत प्रहरीलाई पक्राउ परेकालाई छाड्न दबाब दिएका छन्।
चाडपर्वका क्रममा विराटनगर आसपासमा जुवाको ठूलो खाल जम्ने गरेको छ। गत भदौमा मोरङको ग्रामथान गाँउपालिकाका पूर्व अध्यक्ष तथा नेकपा एमालेका नेता शिवनारायण माझी थारुसहित ९ जना जुवाडेलाई १८ लाख ५१ हजार रुपैयाँको खालबाट पक्राउ गरेको थियो।
सो घटनामा तत्कालीन प्रहरी प्रमुख नवराज कार्कीको कमजोरी देखिएपछि कारबाहीको एक कडी बनेको जनाइन्छ।