काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-७, मूलपानीस्थित द भेलोसिटी स्कुलमा शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको पूर्वसन्ध्यामा आयोजित एक बृहत् शुभकामना आदान प्रदान र प्रतियोगतात्मक कक्षागत देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
कार्तिक १३ गते मङ्गलबार विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा विद्यालयका अभिभावकहरूसहित ३०० जना भन्दा बढिको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक रेखा खनालद्वारा पानसमा दीप प्रज्ज्वलन पश्चात् राष्ट्रिय गान गाएर शुभारम्भ भएको कार्यक्रममा कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरूले आ–आफ्नो समूहको तर्फबाट विविध आकर्षक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । प्रत्येक समूहले एउटा सामूहिक नृत्य, एक समूह गायन तथा एउटा देउसी भैलो साथै विद्यालयको नाटक क्लबद्वारा तयार पारिएको तिहार विशेष नाटक प्रस्तुत गरी सम्पन्न भएको कार्यक्रममा समूहगत रुपमा विजयी घोषणा गरिएको थयो ।
विद्यालयका शिक्षक सृजना तिवारी, पवित्रा खत्री र रूमा महर्जन निर्णायक रहनु भएको प्रतियोगितामा कक्षा ४ को समूह प्रथम भएको थियो भने कक्षा ३ को समूह दोश्रो स्थान हासिल गर्न सफल रह्यो । त्यसैगरी, कक्षा ५ र ६ ले तेश्रो स्थान प्राप्त गर्न सफल भयो भने कक्षा १ र २ ले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।
प्रत्येक विजयी समूहका समूह शिक्षकहरू समेत पुरस्कृत भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री रेखा खनालले पुरस्कार तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । विद्यार्थीहरू आफैँले सञ्चालन गरेको कार्यक्रम अत्यन्तै भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।
विद्यालयका प्रशासन प्रमुख सुप्रभ घिमिरेले सम्पूर्ण अतिथि तथा अभिभावकहरूलाई विद्यालयको तर्फबाट स्वागत गर्नुभएकोे थियो । कार्यक्रमका सभापतित्व विद्यालयका प्रधानाध्यापक रेखा खनालले हाम्रो संस्कृति र अस्तित्वको जगेर्ना हामीले नै गर्नुपर्छ भन्ने सचेतना फैलाउने मूल उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउँदै यस्ता अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूको चौतर्फी विकासमा योगदान पुर्याउने समेत बताउनु भयो ।
यसका लागि द भेलोसिटी स्कुलले अभिभावकहरूको पनि सधैँ साथ लिई उहाँहरूलाई यस्ता क्रियाकलापहरूमा सहभागी गराई रहने कुरा जानकारी गराउनुभयो । उहाँले विजयी विद्यार्थी समूह, समूह शिक्षकहरुलाई बधाई दिँदै सम्पूर्णलाई नेपालीहरूको दोश्रो महान् चाड शुभ दिपावली, नेपाल सम्वत् ११४५ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना समेत व्यक्त गर्नुभयो ।