स्याङ्जा । हराएका ६ थान मोबाइल फेला पारी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
स्याङ्जामा विभिन्न मितिमा आफ्ना मोबाइल सेट हराएको भनी सर्वसाधारणले दिएको निवेदनका आधारमा खोजतलास गर्दा फेला पारेका मोबाइल बुझाएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले बताउनुभयो ।
मङ्गलबार हस्तान्तरण गरिएका मोबाइल भिभो, हुवावे, रेड्मी, रियलमी लगायत कम्पनीका रहेको श्रेष्ठको भनाइ छ । यहाँका धन सुबा सार्की, नरेन्द्रराज अर्याल, हर्कमान थापा, लिलबहादुर दर्जी, सन्तोष विश्वकर्मा र कृष्णप्रसाद तिवारीलाई प्रहरीले मोबाइल बुझाइएको हो ।
मोबाइल धनीले दिएको उजुरीमा फोन सम्पर्क गर्दा बाटोमा फेला पारेर ल्याएको भन्दै प्रहरी कार्यालयमा दिएपछि मोबाइल धनीलाई बुझाउन सहज भएको श्रेष्ठले जनाउनुभयो ।
यो आर्थिक वर्षमा १७ वटा मोबाइल हराएको उजुरी परेकोमा नभेटिएका अन्यको कानुनअनुसार अनुसन्धान गरेर खोजी गरिरहेको प्रहरीले जनाएको छ ।