न्युयोर्क । अमेरिकी राष्ट्रपति निर्वाचन आउन एक सातामात्र बाँकी छँदा आइतबार साँझ रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा झुल्किए, यहाँका डेमोक्र्याट मतदाताहरुको मन आफूतिर फर्काउने प्रयास गर्न। यद्यपि विश्वकै राजधानी मानिने न्युयोर्कमा गरिएको चुनावी सभाले स्थानीय मतदातामात्र होइन, प्रचारका हिसाबले अमेरिकाभरिकै मतदातालाई प्रभावित पार्ने सामर्थ्य राख्छ।
ट्रम्प र उनको चुनावी अभियानलाई सघाउ पुर्याउन आएका अन्य व्यक्तिहरुले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस र अन्य डेमोक्र्याट नेताहरुलाई प्रशस्त गाली गरे र उनीहरुलाई निर्मम तरिकाले आरोपहरु लगाए। म्याडिसन स्क्वायरको कार्यक्रममा ट्रम्पलाई उनकी श्रीमती मेलाइना ट्रम्पले परिचय गराएकी थिइन्। ट्रम्पपत्नी मेलाइना यसअघिका र्यालीहरुमा भने खासै देखिँदैन थिइन्।
ट्रम्पभन्दा अगाडि आफ्नो प्रस्तुति दिएका ट्रम्पसमर्थक कमेडियन टोनी हिनक्लिफले पुएर्टिरिकोलाई ‘फोहोरको तैरिरहने टापु’ को उपमा दिएका थिए। क्यारिबियन देश पुएर्टिरिकोबाट अमेरिका भित्रिने आप्रवासीहरुबाट आक्रोशित देखिएका कमेडियन हिनक्लिफले ल्याटिनीहरुलाई ‘धेरै बच्चा जन्माउने जाति’ का रुपमा समेत चित्रण गरेका थिए।
पछिल्लो समयमा ट्रम्प तथा उनको चुनावी टिम ‘अर्थतन्त्र’ र ‘आप्रवासी’बारे निकै उत्तेजक रुपमा प्रस्तुत भइरहेका छन्। यद्यपि, यसले उनको चुनावी माहौललाई सकारात्मक रुपमा प्रभाव पारिरहेको विश्लेषकहरु बताउँछन्। २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचन निकै प्रतिष्पर्धात्मक हुने स्पष्ट देखिएको छ। चुनावी पोलहरुले ट्रम्प र कमला ह्यारिस दुवैलाई कडा प्रतिष्पर्धीमा रुपमा प्रस्तुत गरिरहेका छन्।
चुनाव आउनुभन्दा एक साताअगाडि पेन्सिल्भिनिया, एरिजोना, नेभाडा, जर्जिया, मिसिगन, नर्थ क्यारोलिना तथा विस्कन्सिनजस्ता स्विङ स्टेटलाई छाडेर न्युयोर्कमा मतदातालाई आकर्षित पार्ने प्रयासमा लागेका ट्रम्प आइतबार निकै राम्रो संख्यामा समर्थकहरुलाई र्यालीमा तान्न सफल भएका थिए। बिहान ११ बजेदेखि नै म्याडिसन स्क्वायर वरपरको ट्राफिक व्यवस्था प्रभावित भएको थियो भने साँझ ट्रम्प आउने कार्यक्रममा सहभागी हुन हजारौँ समर्थकहरु बिहानैदेखि कार्यक्रमस्थलमा प्रवेश गरेका थिए।
आफ्ना चुनावी सभाहरुमा ट्रम्पले कमला ह्यारिस र उनका सहयोगीहरुलाई मूल्यबृद्धिलाई बढावा दिएको तथा गैरकानुनी आप्रवासीहरुलाई भित्र्याएको आरोप लगाइरहेका छन्, जसलाई आइतबार पनि ट्रम्पले दोहोर्याए। उनले भने– नोभेम्बर ८ को निर्वाचनपछि अमेरिका कसैको नियन्त्रणमा रहने छैन। यो अमेरिकाको लागि मुक्ति दिवस हुनेछ।
उनको सिधा आक्रमण डेमोक्र्याट्सको खुला आप्रवासी नीतिप्रति थियो। उनी डेमोक्र्याट्सहरुलाई ‘आफैँभित्रका सत्रु’का रुपमा पनि चित्रण गर्छन्, जुन उनले आइतबारको सभामा पनि गरेका थिए। उनले कमला ह्यारिसलाई ‘दुई लाइन पनि पूरा बोल्न नसक्ने’ नेताका रुपमा पनि चित्रण गरेका थिए।
नोभेम्बर ८ मा हुने अमेरिकी निर्वाचनमा ५३८ इलेक्टोरल कलेजले राष्ट्रपतिको चयन गर्नेछन्। यीमध्ये २२६ डेमोक्र्याट्सको पक्षमा देखिएको छ भने २१९ रिपल्बिकनहरुको पक्षमा।
पेन्सिल्भिनिया, एरिजोना, नेभाडा, जर्जिया, मिसिगन, नर्थ क्यारोलिना तथा विस्कन्सिनका ९३ सिट भने चुनावी मत सर्वेक्षणका आधारमा स्विङ स्टेटका रुपमा देखिएका छन्। यदि अहिले पक्षमा देखिएका राज्यका २२६ कमला ह्यारिसले विजय गरेमा उनलाई राष्ट्रपति बन्न थप ४४ सिट आवश्यक पर्छ भने ट्रम्पलाई अहिले निश्चित देखिएका २१९ सिटमा चुनाव जिते थप ५१ सिट आवश्यक पर्छ, राष्ट्रपति बन्नका लागि।
आइतबार करिब २० हजार क्षमताको म्याडिसन स्क्वायरको गार्डेन संगीत तथा कला क्षेत्रका हजारौँसहित अन्य समर्थकहरुले भरिएको थियो। कार्यक्रममा एलन मस्क, न्युयोर्कका पूर्वमेयर रुडी गुलियानी, यसअघि डेमोक्र्याट रहेका रिपब्लिकन रोबर्ट एफ केनेडी, उपराष्ट्रपति जेडी भ्यान्सलगायत ट्रम्पका सहयोगीहरु पनि उपस्थित थिए। ट्रम्पसँगै रिपब्लिकन उम्मेदवार बन्न प्राइमरी चुनावमा प्रतिष्पर्धा गरेका विवेक रामास्वामीले पनि चुनावी सभामा ट्रम्पका पक्षमा मतदातालाई आकर्षित गर्ने प्रयास गरेका थिए।
ट्रम्प न्युयोर्कमै जन्मेका हुन् भने उनले आफ्नो व्यवसायको साम्राज्य न्युयोर्कमै बनाएका हुन्। उनी न्युयोर्कलाई डेमोक्र्याटहरुको ‘निलो’ राज्यका रुपमा स्वीकार गर्दैनन् बरु यसपटकको निर्वाचनमा न्युयोर्कले आफूलाई मत दिने ठोकुवा पनि गर्छन्। ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले आफ्ना बुवाको उक्त दाबीलाई सघाउने गरी म्याडिसन स्क्वायरको सभामा आइतबार भनेका थिए- ‘न्युयोर्कको राजा उनले आफैँ बनाएको सहरमा पुनर्दाबी गर्न फेरि फिर्ता भएका छन्।’