काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् । उनी फ्रान्सका बक्सर एन्टोनिन मार्काेनीलाई ढाल्दै वल्र्ड च्याम्पियन हुन सफल भएका हुन् ।
इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा शनिबार आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का) प्रतियोगिताले उनलाई यो उपाधि दिलाएको हो । यो ऐतिहासिक सफलतासँगै घिमिरे इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी बन्न सफल भएका छन् ।
बक्सर घिमिरेले प्रतियोगिताका लागि थाइल्यान्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण आफ्नै खर्चमा लिएका थिए ।
‘हिमालय चितुवा’का रूपमा विश्व प्रसिद्ध भएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर हुन् । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच)मा घिमिरेले पहिलो राउन्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर ‘इन्टरनेसनल किक बक्सिङ’को उपाधि चुमेका थिए ।
उनले हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गरिसकेका छन् । यसै क्रममा उनले चारपटक हिट प्रतियोगिताको टाइटल म्याचको उपाधि (बेल्ट)समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’समेत कायम राख्न सफल भएका थिए ।
उनले विश्व प्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई नक आउट गर्न सफल भएका थिए । उनले हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड, थाइल्यान्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका छन् ।
युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झन्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् ।
जापानको नागोया सहरमा उनी आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन् ।
कराँते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी रहेका छन् ।
चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बुका बासिन्दा उनको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।