काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थायी नहुने जनाएका छन्।
शुक्रबार महोत्तरीको जलेश्वरमा आयोजित नेपाली कांग्रेस जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको विषय स्थायी नभएको र गठबन्धन गर्ने निर्णय तत्कालीन राजनीतिक अवस्थामा पार्टीले लिएको रणनीतिको निर्णय भएको जनाए।
उनले रणनीतिक निर्णयअन्तर्गत २०७४ सालको निर्वाचनमा स्थानीय तहमा राम्रो गरे पनि सोही गठबन्धन प्रदेश र संघ निर्वाचनमा हुन नसक्दा क्षति व्यहोर्नुपरेको जनाए।
उनले ०७९ को गठबन्धन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक असंवैधानिक तरिकाले संविधान मिच्ने, प्रतिनिधि सभाको विघटन गरेका कारण बनाउनुपरेको जनाए।
उपसभापति खड्काले कांग्रेसले आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउन विगतका कमजोरीहरु बिर्सिएर नयाँ रुपमा अघि बढ्नुपर्नेमा जोड दिए।


