काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब २२ करोड थियो ।
बैंकको खुद ब्याज आम्दानी १४ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ४ अर्ब ८० करोड रहेकोमा अहिले ४ अर्ब ११ करोडमा खुम्चिएको छ । लोनलस प्रोभिजन रकम घट्दा बैंकको नाफामा टेवा पुगेको देखिन्छ ।
यस्तो प्रोभिजन रकम पहिले १ अर्ब ७८ करोड रहेकोमा अहिले १ अर्ब ७ करोडमा झरेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७४ पैसा छ । पहिले १३ रुपैयाँ ७१ पैसा थियो । त्यस्तै वितरणयोग्य नाफा १ अर्ब ९१ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १४ रुपैयाँ १८ पैसा हो ।
बैंकको निष्क्रिय कर्जा बढेको छ । गत वर्षको असोज मसान्तसम्म यस्तो कर्जा कुल कर्जामा ४.३८ प्रतिशत रहेकोमा यो वर्षको असोज मसान्तसम्म ४.६७ प्रतिशत पुगेको छ । आधार दर घट्दो क्रममै छ । पहिले १० प्रतिशत रहेकोमा अहिले ७.२९ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ ।