काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार बैंकको खुद नाफा ३.८ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म १ अर्ब ५२ करोड खुद नाफा कमाएको बैंकले यो वर्षको सोही अवधिमा १ अर्ब ४६ करोड कमाएको छ ।
खुद ब्याज आम्दानीमा आएको कमीले नाफा घटेको देखिन्छ । यस्तो आम्दानी पहिले ४ अर्ब १६ करोड रहेकोमा अहिले ३ अर्ब ८७ करोडमा झरेको छ । बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ५१ करोड ऋणात्मक छ । अर्थात् प्रतिसेययर वितरणयोग्य नाफा ७ रुपैयाँ ३६ पैसा ऋणात्मक हो ।
बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १६ पैसा छ । निष्क्रिय कर्जा बढेको छ । यस्तो कर्जा गत आर्थिक वर्षको असोज मसान्तसम्म कुल कर्जामा १.८६ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म १.९९ प्रतिशत छ।
सीडी रेसियो ७८ प्रतिशतमा झरेको छ । एक वर्षको अवधिमा आधार दर ९.९९ प्रतिशतबाट घटेर ७.२८ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा छ । मंगलबार बजार बन्द हुँदा यस बैंकको सेयर मूल्य प्रतिकित्ता २५१ रुपैयाँ छ ।