एजेन्सी । केही दिन अगाडि सोसल मिडियामा एउटा यस्तो फूलको तस्वीर भाइरल बन्यो जसको आकार ठ्याक्कै पद्मासनमा ध्यान गरिरहेको मानिसको जस्तो देखिन्छ ।
टर्कीको हल्फेटी गाउँमा मात्रै फुल्ने दाबी ग्रिएको सो फूलको नाम नै ‘योगी फूल’ राखिएकाे थियाे । केही इन्टरनेट प्रयोगकर्ता त अझै एक कदम अघि बढ्दै हलफेती गाउँमा पाइने विशेष गुणस्तरको माटोका र फूलमा रहेको एन्थोसाइनिन रङकणका कारण ‘योगी फूल’ गर्मी महिनामा कालो र अन्य महिनामा गाढा रातो रङको बन्ने गरेको दाबी गरे । तर, अहिलेको एआईको जमानामा कुनै काल्पनिक र झुट तथ्य फैलाउन जति सजिलो छ त्यसको पर्दाफास पनि क्षणभरमै गर्न सकिन्छ ।
यसैबीच समाचार साइट फ्याक्टलीले उक्त भाइरल योगी फूलबारे तथ्य जाँच गर्दै त्यो अस्तित्वमै नरहेको पत्ता लगाएको छ ।
योगी फूल भन्दै इन्टरनेटमा फैलिएको योगासनयुक्त फूलको तस्वीर एआईबाट तयार पारिएको तथ्यको खुलासा भएको छ । टर्कीमा मात्र नभई त्यस्तो फूल संसारमै कतै पनि नभएको र तस्वीर पूर्णरुपमा एआईबाट बनाइएको पाइएको छ ।
उसो त टर्कीको हल्फेटी गाउँमा योगी फूल नभए पनि एउटा निकै सुन्दर तथा विशेष खालको कालो गुलाबको फूल भने फुल्ने गर्दछ । जसको नाम कारा गुल हो । रातो रंगको यो फूल गर्मी महिनामा भने कालो बन्दछ । गाउँको माटोमा हुने विशेष लवण तथा अन्य अम्लीयपनाको स्तरका कारण फूलको रङ त्यसरी मौसम अनुसार परिवर्तन हुने बताइएको छ । सोही फूल हेर्नका लागि उक्त गाउँमा बर्सेनि ठूलो संख्यामा पर्यटक जाने गरेका छन् ।