काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायातसम्बन्धी सम्पूर्ण काम प्रदेश सरकारले गर्नुपर्ने जनाएका छन्।
आइतबार काठमाडौंमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उनले यातायातसम्बन्धी सम्पूर्ण अधिकार संविधानले प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै सोहीअनुसार सम्पादन गर्नुपर्ने जनाएका हुन्।
मन्त्री दाहालले संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकारहरुले आफ्नो अधिकार खोज्ने काममा ढिलाइ गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।
उनले स्मार्ट लाइसेन्स कार्ड उत्पादन र वितरणको काम पनि प्रदेश सरकारमार्फत हुने बताए। संघीय सरकारले आफ्नो दायित्व पूरा गरे पनि लाइसेन्स कार्ड वितरण गर्ने काम अब प्रदेश सरकारले जिम्मेवार भएर गर्नुपर्ने मन्त्री दाहालको भनाइ थियो। उनले प्रदेश सरकारले अझै पनि आफ्नो अधिकार खोज्ने मामिलामा पछि परेको पनि जनाए।