एजेन्सी । कम्पनीले खाना भत्ताबापत दिएको रकम कपडा धुने डिटरजेन्ट, वाइन गिलास र डण्डिफोर उपचार प्याडको खरिदमा खर्चिने करिब दुई दर्जन कर्मचारीलाई फेसबुकको मातृ कम्पनी मेटाले बर्खास्त गरेको छ ।
लस एन्जल्सस्थित कार्याल्यमा कार्यरत ती कर्मचारी खाना भत्ताको रकम दुरुपयोग गरेको आरोपमा बर्खास्तीमा परेका हुन् ।
उक्त रकमबाट कर्मचारीले खानेकुरा अनलाइनबाटै कार्यालयमा मगाएर खान सकुन् र काममा बाधा नपुगोस् भन्ने उद्देश्य मेटाको रहेको छ । तर, लस एन्जल्सस्थित कार्यालयका कतिपय कर्मचारीहरुले उक्त खाना भत्ताको रकम दुरुपयोग गरेको आन्तरिक अनुसन्धानले देखाएको छ । जसमा ती कर्मचारीहरुले भत्ताबापतको रकम अन्य वस्तुमा खर्च गर्ने तथा कार्यालयको साटो घरमै खानेकुरा मगाउने गरेको पाइएको छ ।
मेटाले कम्पनीको श्रृंखलाबद्ध पुनर्संरचनाका क्रममा कर्मचारीहरू कटौती गर्न लागिरहेको बताइरहेका बेला नै गत साता भएको पछिल्लो बर्खास्तगीको समाचार सार्वजनिक भएको हो ।खाना भत्ताको रकम दुरुपयोग गर्ने करिब २ दर्जन कर्मचारीलाई हटाइएको बताइएपछि मेटाले यकिन संख्या भने सार्वजनिक गरेको छैन ।
स्मरण रहोस् कर्मचारी कटौतीकै सिलसिलामा मेटाले गत वर्ष २० हजारभन्दा धेरै कर्मचारी कटौती गरेको थियो ।