-जानकी पाण्डे
स्वदेशमै रोजगारीका अवसरको कमीले पुरुष मात्र नभई नेपाली महिला पनि विश्वभर कामको खोजीमा पुगेका छन् । तर, अशिक्षित र अदक्ष त्यस्ता महिलालाई धेरैजसो घरेलु कामदारको रुपमा प्रयोग गरिएको छ । घरेलु कामदारमा पनि श्रमशोषण र यौनशोषणका घटना धेरै भएका छन् । यस्तै, एउटा घटना प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीको विवरणअनुसार छोरी हुर्काएर काठमाडौंमा बसिरहेकी एक महिला वैदेशिक रोजगारीका लागि युएई तथा कुबेत पुग्दा पटकपटक बलात्कृत हुनुपरेको छ । आर्थिक अवस्था राम्रो होला भन्ने आशमा दलाललाई पैसा बुझाएर दुबई गएकी ती महिलालाई प्रलोभनमा पारेर दुबईमा एक व्यक्तिले बलात्कार गरेका हुन् ।
ती नेपाली दलालले महिलालाई बलात्कारपछि गर्भ रहँदा नेपालमा नै पठाइ गर्भपतन गराएको प्रहरीले जनाएको छ ।
त्यसपछि फेरि प्रलोभनमा पारेर दुबई बोलाई त्यहाँबाट कुबेतमा रोजगारीका लागि पठाएको भन्दै श्रीलंकाली नागरिकलाई बेचेका थिए । त्यसपछि कुबेतमा पनि यौनशोषणमा परेकी ती महिला नेपालबाट पैसा मगाएर बुझाएपछि मात्र नेपाल फर्कन पाएकी थिइन् । यो कहालीलाग्दो घटना एउटा प्रतिनिधि उदाहरण मात्र हो । विदेशमा रोजगारीमा पुगेका धेरै नेपाली महिलाले यस्तो समस्या भोग्नुपरेको छ । यस्तो अवस्था आउनुको कारण हो, नेपालमा नै पर्याप्त रोजगारीका अवसरकोको कमी हुनु, महिलालाई समाजले पनि सहयोगी व्यवहार नदेखाउनु, परिवार, आफन्त र समाजका महिलाले पनि पीडित महिलालाई सहयोग प्रदान नगर्नु हो । सरकारले विश्वको १११ वटा देशका लागि श्रम स्वीकृति खुला गरे पनि नेपालीहरू १११ वटाभन्दा बढी देशमा गएको तथ्यांक छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९÷८० मा संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिई जानेको संख्या सात लाख ७१ हजारभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् ।
तीमध्ये महिलाको संख्या ६९ हजार ५७ रहेको छ तर भारत हुँदै अवैध बाटो भएर खाडी मुलुक जाने महिलाको यकिन तथ्यांक भने छैन । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र पहुँचयोग्य बनाउने उद्देश्यले व्यक्तिगत र पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा सहजीकरण ७५३ स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमार्फत हुने व्यवस्था गरिएको छ । यस्ता व्यवस्था भए पनि विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिरेर जाने बाध्यतामा श्रमिकहरू रहेका छन् । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका उजुरी पनि उत्तिकै आउँछन् । आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा तीन हजार ३५६ वटा उजुरी परेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालको संविधानले आफ्ना नागरिकलाई वाक स्वतन्त्रताका साथै जीविकोपार्जन गर्ने स्वतन्त्रता प्रदान गरेको छ । महिलाको हकमा पनि यो कुरा उत्तिकै लागू हुन्छ । महिलालाई पनि घरबाहिर हिँडडुल गर्न, काम गर्न अनि अरूसँग बोलचाल गर्न पुरुष जत्तिकै अधिकार छ । तर त्यसको विपरित महिलाहरूबाट माथि अभिव्यक्त भएका अनुभवहरूले हाम्रो समाजमा पितृ सत्तात्मक सोच कति हावी छ भन्ने झल्काउँछ ।
हामी पितृ सत्तात्मक सोच भएको समाजमा हुर्केका छौँ । हाम्रो सामाजिकीकरण पनि त्यस्तै नै भएको छ । एउटी महिलाले बुवा, दाजुभाई, श्रीमान जस्ता विभिन्न रुपमा पुरुष सदस्यबाट सहयोग नलिई कुनै कामका निम्ति अग्रसर हुन सक्दिनन् भन्ने मान्यता समाजमा व्याप्त छ । लैंगिक असमानताका कारण पुरुषको इच्छा, आकांक्षालाई समाजमा जति सरल रूपमा ग्रहण गरिन्छ, महिलाका तिनै इच्छा, आकांक्षालाई अझ पनि सजिलै स्वीकार्न सकिने अवस्था छैन ।
तथापि महिलाले गरेको तथा गर्न चाहेको आय आर्जनलाई पुरुषले सम्मानजनक तरिकाले नलिनु जायज हुँदैन । वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने महिलाहरू घरेलु कामदारका रूपमा जाने गर्छन् । यसरी जानेहरूमध्ये बढीजसो घरेलु हिंसामा परेका, कम पढेलेखेका, गरीब परिवार र पहुँच नभएकाहरू हुन् ।
अहिले दलालहरूको ठूलो नेटवर्क छ, त्यो नेटवर्कभित्र महिलाहरू पनि जोडिएका छन् । त्यही नेटवर्कभित्रका दलाल महिलाहरूले सोझा तथा आर्थिक रूपमा कमजोरहरूलाई प्रभावमा पारी विना श्रम स्वीकृति विदेश पठाइरहेका छन् । दलालहरू एकदमै चतु¥याइँका साथ आर्थिक रूपमा कमजोर महिलाहरूको मनोविज्ञान बुझ्छन् र महिला दलालको नेटवर्कसम्म सम्पर्क गराई ललाई फकाई गर्न सफल हुन्छन् । हिंसा प्रभावित, कम पढेलेखेका र आर्थिक अवस्था कमजोर भएकालाई काम र पैसासँग मात्रै सरोकार हुन्छ । त्यस्ता महिलाहरूलाई वैदेशिक रोजगारीमा जाँदा कसरी सुरक्षित हुनुपर्छ भन्नेबारे ज्ञान हुँदैन, जसका कारण उनीहरू सहजै दलालको फन्दामा पर्छन् ।
यस्ता घटना रोक्न सरकारले महिलाहरूलाई जीविकोपार्जनतर्फ उन्मुख गराउने नीति ल्याउनुपर्छ । महिलाहरूलाई जनचेतनामूलक कार्यक्रमसँगै, आर्थिक सशक्तीकरणको कार्यक्रम ल्याएमा कुनै पनि महिला रोजगारीका लागि बाध्यतावश विदेश जानु पर्दैन ।