काठमाडौं । नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ।
१६५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १४७ रन बनायो। अमेरिकाका लागि शयान जहाँगिरले उत्कृष्ट अर्धशतकीय पारी खेल्दै ३४ बलमा ६० रन बनाए। उनले ६ चौका र दुई छक्का प्रहार गरे। यस्तै एन्ड्रिज जोशले ३०, मिलिन्द कुमारले २२ तथा जसदीप सिंहले १६ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अमेरिकालाई पराजित गर्ने क्रममा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिँदा रिजन ढकाल, करण केसी र गुलशन झाले १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४९ रन जोडे। अन्तिम बलमा दुई रन लिन खोज्दा रन आउट हुँदै अर्धशतक प्रहार गर्न बाट मात्र एक रनले चुके। उनले चार चौका र एक छक्का प्रहार गरे। यस्तै दीपेन्द्र सिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्काको सहयोगमा २८ रन जोड्दा ओपनर अनिल साह र आसिफ शेखले २७/२७ रन जोडे।
गुलशन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले दुई रन जोडे। करण केसी र आरिफ शेख ० रनमा आउट हुँदा सागर ढकाल पनि शून्य रनमा नटआउट रहे।
अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदीप सिंह र हर्मीत सिंहले २/२ विकेट लिँदा अली खान र नोस्थुज केन्जीले एक/एक विकेट हात पारे। नेपाल र अमेरिकाबीच टी–२० आई खेल पहिलोपटक आयोजना भएको हो। यो सिरिजपछि नेपालले अमेरिकामै विश्वकप लिग दुई अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ।