-खडग पाण्डे
एक जना शिक्षक कक्षा कोठामा मस्त संग निदाएकाे थियाे । त्यही समयमा विद्यालय निरक्षक र प्रधानाध्यापक शिक्षण निरक्षणको लागि कक्षा कोठामा पसे । त्यो कुरा शिक्षक चाल पाए। ला बित्यासै पर्यो। शिक्षकले मनमनै सोचे। चलाक कामचोर शिक्षकले तल्कालै जुक्ति निकाले। उनले बिस्तारै आफ्नो आखा खोले र लामो हाई गर्दै भने- देख्यौ त नानी-बाबुहरु, कुम्भकर्ण कसरी निदाउँदो रहेछ ? शिक्षकको त्यो कुरा सुनेर विद्यालय निरक्षक र प्रधानाध्यापक ट्वाल्लै परे।
माथि उल्लेखित चतुर शिक्षक भन्दा हाम्रा राजनीतिक दलहरु जनतालाई झुक्याउन र तिरिमिरी-झ्याई पार्न झन चतुर देखिए। अबैधानिक वा गैर-कानुनी कर्मलाई खुलम खुला स-गौरव नाङ्गै देखाउन थाले। आस्तिकहरुको पितृ भोजनको नाममा श्राद्ध गरे जस्तै राजनीतिक दलहरुले आफ्नो स्वार्थको लागि आफुले अंगिकार गरेको राजनीतिक दर्शन र आदर्शको आँफै श्राद्ध गरिरहेका छन। राजनीतिक दलहरुमा नेताको ठाउमा बा, दाई, भाउजु, देवर, काका, छोरी, ज्वाँईहरु स्थापित भए। राजनीतिक दर्शनलाई सत्ता, स्वार्थ र शक्ति केन्द्रहरुको आदेश तामेलिमा स्वाह पारियो। कार्यकर्ताहरु भजन मन्डलीमा रुपान्तरण भए। प्रश्नहरु निषेध गरिएका छन। आलोचनात्मक चेतलाई बन्ध्याकरण गरिएको छ। धन-सम्पत्ति, महङ्गो उपहार, चन्दा- दानले राजनीतिक वर्गिय पक्षधरता खरिद हुन थाल्यो। दलाल पूँजीवादको नुन खानेले उसैको भलो चिताउनु नै पर्यो। आज जनताले नेताको अनुहारमा डाकुका सरदारको अनुहार देख्न थाले। हिजो सम्म जनताका आशा र भरोसाका धरहराहरु दलाल पूँजीवादले कसरी ध्वस्त पार्दो रहेछ त्यो हालै एमालेको पार्टी कार्यालय शिल्यान्यासमा ढुङ्गामा लेखेको शब्दहरुले प्रष्ट पार्दछ। “लुटको धन फुपुको श्राद्द” भन्ने भनाइलाई आज “झुटको धन आदर्शको श्राद्ध ” मा रुपान्तरण भएको छ। (यहा प्रतिकारात्मक रुपमा “फुपु” शब्द प्रयोग भएकोमा क्षमा चाहन्छु)।
अर्थशास्त्र भन्छ- ब्यापारीको धर्म हो नाफा कमाउनु। सफल ब्यापारी त्यो हो जस्ले धैरै नाफा कमाउदछ। नाफा कमाउन आफुले किनेको मुल्य भन्दा जती बढी मुल्यमा बेच्यो त्यती धेरै नाफा। दलाल पूँजीवादमा नाफा कती भयो त्यो गणना हुन्छ। कसरी भयो त्यो हेरिदैन। कार्ल मार्क्सले “दास क्यापिटल” मा उल्लेख गरेको सर्पलस भ्यालु (अतिरिक्त मान) को हिसाव किताव गर्दैन। दलाल पूँजीवादले नैतीकता, ईमान्दारिता र बैधानिकता चिन्दैन। पूँजीनै एकमात्र सत्य हो। पूँजी बाटै सत्ता, सरकार, न्यायालय, प्रशासन, नेता, राजनीतिक दल जहिले जे जरुरत पर्दछ त्यो खरिद गर्दछ। अर्को शब्दमा लगानी गर्दछ। लगानी भनेको आफुले खर्चेको रकम वा स्रोतबाट त्यो भन्दा बढी प्रतिफल प्राप्त गर्नु हो। अधिकतम नाफा कमाउनु हो। ब्यापारीहरुले बस्तु वा सेवाको ब्यवसाय, सम्पत्ति, स्टक, बण्ड, रियल ईस्टेड आदिमा लगानी गर्दछन। दलाल पूँजीवादमा बस्तु वा सेवा संगसंगै ब्यबस्थापिका, कार्यपालिका र न्यायलयमा लगानी गर्दा रहेछन।
पूँजीवादी देशहरुमा कर्पोरेट सामाजिक उत्तरदायित्वको भूमिका पुरा गर्न च्यारिटी, ट्र्ष्ट, अनाथालय, वातावरणीय अनुकुलता, बिधालय, सामुदायिक बिकास, अस्पताल, अनुसन्धान जस्ता क्षेत्रमा खर्च गर्द्छन। हाम्रो जस्तो दलाल राजनितिक अर्थ ब्यबस्था भएको मुलुकमा अपवादलाई छोडेर कर्पोरेट सामाजिक उत्तरदायित्व भन्दा राजनीतिक दल, तिनका नेता, प्रशासनिक र न्यायिक क्षेत्रमा लगानी गर्दछन। बदनाम ब्यापारिक घरानिया, विवादित ठेकदार, भुमाफिया, तस्करहरु जस्ताको राजनीतिक दल र तिनका नेताहरु संगको साठगाठ हामी माझ खुला रहस्य (open secrete) भएकै छ। दल भित्रको पहुच र गुठ अनुसार स्थानिय, प्रदेश र संघिय सम्म आ-आफ्नै तहगत चोचो-मोचो अनुसार लगानी र असुली धन्दा सामान्य हुँदै गएको छ।
ब्यापारिहरुले राजनीतिक दल वा तिनका नेता वा उमेद्दवारहरुलाई आर्थिक सहयोग किन गर्दछन? पूँजीवादी देशमा करका दरहरुमा बैधानिक र आफु अनुकुल फेरवदल, उधोग ब्यापार अनुकूल श्रम कानुन, नितिगत परिवर्तन, देशको आर्थिक सुधार, बैदेशिक ब्यापार विस्तार र संझौता आदिको लागि दान वा सहयोग गर्दछन। पूँजीवादी अर्थ ब्यबस्थामा सबै कुरा पुजिलेनै निर्धारणा गर्दछ। तर आफ्नो देश भित्र थोरै नैतिकता र जिम्मेवारीबोध हुने गर्दछ। तर हाम्रो जस्तो दलाल पूँजीवादी अर्थ ब्यबस्था र रिमोटबाट निर्देशित एवम् ब्यापारीको घरबाट निर्माण र विघटन हुने राजनीतिक दल फगत कर्पोरेट हाउस जस्ता भएका छन। आफ्नै सरकारी निवास बिक्री गर्ने सरकार प्रमुख, मानव तस्कर गर्ने गृह मन्त्री, सुन तस्कर गर्ने जस्ता प्राणीहरुलाई ब्यापारिहरुले उपयोग गर्नु सामान्य हो। राजनीतिमा भ्रष्टीकरण र भ्रष्टीकरणमा राजनीति हाम्रो नियती हो। दलाल ब्यापारिहरु आँफै राजनीतिमा देखिने गरी आउन चाहेमा समानुपातिकको मनचिन्ते झोलाबाट वा नेताको खल्तिको टिकटबाट फुत्त आउन सक्दछन। यो आँफै आउन रुची राख्न्दैनन तिनिहरुले आफ्नो एजेन्ट पठाउदछन वा बनाउदछन। जो सिधै आफु पनि आउँदैनन र एजेन्ट बनाउन चाहदैनन तिनिहरुले थोकमै पार्टी वा नेता किन्दछन।
अहिलेका दलाल संसदीय ब्यबस्था भित्रका दलहरु हेर्यो भने बैराग लाग्दो छ। इतिहासको ब्याजमा गुजारा गरेका छन। बिपी कोईरालाको नाममा, मदन भण्डारीको नाममा, मार्क्स, लेनिन वा माओको नाममा र बैकल्पिक नाममा वा कुनै अर्को नाममा। महल वा ठूला बदमान ब्यापारी वा ठेकेदारले टक्राएको वा ठडाईदिएको अलिसान महल र हवेलिमा करोडौको घडी, लाखौंको चस्मा, आफ्ना छोरा-बुहारी, भाई-भारदार, ज्वाँई, सालाले घेरिएर, सरकारी सुरक्षा फौजको सुरक्षा घेरामा बसेर, गरिव, विपन्न, पछाडि पारिएका भुईमान्छेहरुको हितमा काम हुँदैछ वा हुन्छ भनेर पत्याउनु पर्ने हाम्रो बाध्यता भएको छ।
अब थोरै मिन बहादुरको दान र एमालेको कुरा गरौ। बिना संकोच सार्वजनिक रुपमा दान स्विकार गरेकोमा एमालेलाई धन्यवाद। चाहेको भए एमालेले अनेक तिकडम् गरेर यो दानलाई गोप्य राख्न सक्दथ्यो। नेपाली जनतालाई प्रष्ट सन्देश दियो- सरकार बनाउन कस्ले सहजिकरण गर्दछ? पार्टिमा कस्को लगानी हुन्छ? पार्टी र सरकारले कस्को हितमा काम गर्दछ? माथिनै उल्लेख छ – ब्यापारीले खर्च गर्दैन, लगानी गर्दछ। प्रष्ट छ ब्यापारीले घाटाको ब्यबसाय गर्दैन। लगानिको प्रतिफल राजनीतिक दल र सरकार मार्फत जनताबाट अशुली हुने छ।
मिन बहादुर ललिता निवास जग्गा प्रकारणमा मुछिएका छन। यस्ता ब्यक्तिबाट दान लिनु हुँदैन्थ्यो। यो एउटा तर्क हो तर हाम्रो सन्द्रभमा व्याबहारिक छैन। हाम्रा भित्र यस्ता अनेकौ भ्रष्ट्राचारहरु छन तिनिहरुको उजागर भएमा राजनीतिक दल भित्रका स्वच्छ नेता खोज्नु स्यालको सिंग खोज्नु जस्तै हुने छ। उदाहरणको लागि भुटानी शरणार्थी, ललिता निवास, गिरिबन्धु टि स्टेट, बाल संगठन, सुन तस्करी, सहकारि ठगि आदि ईत्यादि कती हो कती काण्डहरुले सबैलाई निल्दछ। हामी सुद्द खोज्दछौ। सत्ता र शक्तिमा हुनेहरु पवित्र खोज्दछन। पवित्रता धनको कसिमा नापिन्छ। बागमतिको पानी पवित्र हो, देउतालाई चडाउन, अभिषेक गर्न हुन्छ तर पिउन हुँदैन किनकी बागमतीको पानी स्वच्छ छैन।
के अब हाम्रो “भाग्य” यस्तै हो भनेर चुप बस्ने? के राजनीतिक दल, तीनका नेता वा दलाल पूँजीवादलाई सत्तो सराप गरेर मात्र देशको स्थितिमा सुधार आउँला? निरासा, अकर्मण्यता, बैरागिपनले हामीलाई कता पुर्याउदछ? संसदिय राजनीतिक दलहरुले आफ्नो आदर्शको श्राद्धमा पिण्ड प्रसाद खान सामेल हुने कि त्यसको बिरुद्दमा मोर्चाबन्दी गर्ने? आउनुहोस हामी जहाँ छौ त्यहिबाट प्रश्न गरौ। खवरदारी गरौ। आलोचनात्मक चेतलाई कृयाशिल पारौ। रचनात्मक होऔ। दल भित्र र बाहिरका सबै खाले विकृती र विसंगती बिरुद्द आवाज उठाऔ। हाम्रा भावी पुष्ताले हामी प्रती गर्व गर्ने ईतिहास निर्माण गरौँ।