एजेन्सी । लेबनानी हिजबुल्लाह समूहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको इजरायली सेनाको क्याम्पमा ड्रोन हमला गरेको छ ।
स्थानीय समयअनुसार आइतबार राति हिजबुल्लाहले हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायली सेनाले लेबनानमा हिजबुल्लाहविरुद्ध आक्रमण तीव्र बनाइरहेको बेला पछिल्लो हमला भएको हो ।
हमलामा इजरायली सेनाका ४ जवानको ज्यान गएको छ । अरु ६० जनाभन्दा बढी घाइते भएका छन् । हिजबुल्लाहले हमलाको जिम्मेवारी लिएको छ ।
उत्तरी इजरायलको हाइफा सहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण भएको इजरायली रक्षा बल (आइडीएफ) ले पुष्टि गरेको छ ।
इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा आक्रमण गरेको प्रतिक्रियास्वरूप ड्रोन हमला गरिएको हिजबुल्लाहले जनाएको छ ।
सैन्य क्याम्पभित्रको डाइनिङ हललाई निशाना बनाएर ड्रोन हमला गरिएको इजरायली सञ्चार माध्यमले जनाएका छन् ।
ड्रोन खस्नुअघि खतराको संकेत दिने कुनै साइरन नबझेका कारण इजरायली सेनाले क्षति भोग्नुपरेको समाचारहरुमा उल्लेख छ ।
आईडीएफ प्रवक्ता ड्यानियल हगारीले ड्रोन इजरायल प्रवेश गर्दा चेतावनी साइरन नबजेको विषयमा अनुसन्धान भइरहेको जनाए ।