काठमाडौं । सल्यान, शारदा नगरपालिका-४ किमिरेचौर बस्ने राम बहादुर बस्नेतको घरमा आइतबार राति आगलागी हुँदा नगद र जिन्सी सामान जलेर करिब १६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगजनी गर्ने राम बहादुरको छोरा ३० वर्षीय घनश्याम बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संखुवासभा, खाँदबारी नगरपालिका-७ स्थित नापी कार्यालयको गेष्ट रूममा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा फर्निचरका सामानहरू जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ, उर्लाबारी नगरपालिका-९ दुर्गापुरी बस्ने नैनसिंह गुरूङको घरमा गए राति आगलागी हुँदा घर तथा सोही घरमा रहेको न्यौपाने सुनचाँदी पसल, न्यौपाने पुस्तक पसल र युना गिफ्ट फेन्सि पसल समेत जलेर करिब २७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१३ सूर्यबस्ती बस्ने धन प्रसाद काफ्लेको काफ्ले किराना पसलमा आइतबार राति आगलागी हुँदा फ्रिज १ थान, फर्निचर, खाद्यान, खुद्रा किराना सामानहरू र नगद २९ हजार रूपैयाँ गरी करिब ४ लाख ५० रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।