काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको १५ औं बृहत् शैक्षिक मेला विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको छ।
बुधवार नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा सञ्चालित उक्त एक दिने मेला सफलतापूर्वक सम्पन्न भएको हो ।
विद्यार्थी, अभिभावक र अन्य सरोकारवालाहरूलाई अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सुसूचित परामर्श प्रदान गर्ने उद्देश्यले आयोजित मेलामा पाँच हजारभन्दा बढीले अवलोकन तथा परामर्श लिएको आयोजकले जनाएको छ ।
“बाढीपहिरोका कारण अधिकांश स्थानमा अवरोध सृजना भएको समयमा पनि मेलामा विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रह्यो”, इक्यानका अध्यक्ष शेषराज भट्टराईले भने, “मेलामा विद्यार्थीले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सम्पूर्ण जानकारी लिएका छन् ।”
कोरोना महामारीपछि भौतिक रूपमा पहिलो पटक आयोजना गरिएको मेला भएकाले पनि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उनको भनाइ छ ।
मेलामा विभिन्न शैक्षिक परामर्श संस्थाका साथै विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको पनि उपस्थिति थियो। विद्यार्थीहरूले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष साक्षात्कार गरेका थिए ।
मेला संयोजक गीता सिवाकोटीले बाढीपहिरोका कारण निर्धारित समयभन्दा तीन दिन ढिला गरी आयोजना भएको भए पनि मेलामा विद्यार्थीले उल्लेख्य सहभागिता जनाएको बताइन् ।
वान अप प्रालिको व्यवस्थापनमा आयोजना भएको यो मेलाको मुख्य प्रायोजक रियल ड्रिम्स एजुकेसन कन्सल्टेन्सी र ‘इन एसोसिएसन विथ’ वेद इन्टरनेशनल एजुकेसन रहेका थिए ।
त्यस्तै आइएलटीएस पार्टनरको रूपमा ब्रिटिस काउन्सिल रहेको थियो । साथै प्रायोजकमा केआईईसी प्रालि, अर्बिट इन्टरनेशनल एजुकेसन प्रालि, नोबेल एजुकेसन प्रालि, डब्ल्यूआरआई एजुकेसन, राइटपाथ, सेनेका, कंगारु एजुकेसन फाउन्डेसन, एलाइट मुभर्स, भिरा एजुकेसन र ग्रेस एजुकेसन प्रालि थिए ।
मेलामा विभिन्न २२ वटा कम्पनीका स्टल राखिएको थियो । शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा पुरानो र ठुलो संस्था इक्यानमा ६०७ सदस्य छन् ।