देशैभर सडक अवरुद्ध हुँदा अहिले यात्रुहरु हवाई माध्यम प्रयोग गर्न बाध्य छन् । जसका कारण आन्तरिक उडानमा चाप बढेको छ । तर, सोमबार प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा विदेशी उडान आधा घन्टाभन्दा बढी प्रभावित भयो । भीआईपी सवारीका नाममा भएको यस्तो सवारीका कारण उडानमा त गम्भीर असर प¥यो नै सर्वसाधारणले पनि अनाहकमा सास्ती बेहार्नुप¥यो । विगतमा राजतन्त्रकालीन अवस्थामा यस्ता भीआईपी सवारीका कारण सास्ती व्यहोर्ने जनता अहिले मुलुकमा लोकतन्त्र, गणतन्त्र आइसक्दा पनि भीआईपी सवारीको आतंकबाट मुक्त छैनन् । केही कथित विशिष्ट व्यक्तिहरुले आफ्नो पदको दुरुपयोग गरी अतिरिक्त सुविधा लिँदा त्यसको मारमा भने सर्वसाधारण पर्दै आएका हुन् ।
विदेशी पाहुना, राष्ट्रपति वा प्रधानमन्त्रीको सवारी वा मुख्य दलका शीर्ष नेताहरूको आवतजावत हुँदा मात्र यो समस्या हुने होइन । जहाँ–जहाँ ‘अति विशिष्ट’ वा ‘विशिष्ट’ व्यक्तिको जमघट र आवतजावत हुन्छ, ती क्षेत्रमा नागरिकले यस्तो हैरानी खेप्नु सामान्य कुरा मानिन थालेको छ । सरकारी मर्यादाक्रममा शीर्ष ७ भित्र पर्ने विशिष्टहरूको आवागमनले राजधानीको सवारी अस्तव्यस्त बनाएको उपत्यका ट्राफिक कार्यालयका विभिन्न समयका अध्ययनले पनि देखाउँछ । मुलुकका विशिष्ट व्यक्तिका सवारीको हकमा गृह मन्त्रालयबाट सूचना प्राप्त भए त्यो अवधिमा लाइट बन्द गरेर आवतजावतलाई खुला गर्ने गरिन्छ । त्यसका बाबजुद नेपालका विशिष्ट व्यक्तिहरूले विना सूचना ट्राफिक नियम उल्लंघन गर्दै हिंड्न गरेका छन् । लोकतान्त्रिक प्रणालीमा पनि आफूलाई अरूभन्दा विशिष्ट देखाउन विधि मिच्ने काम विशिष्टहरूबाटै भइरहेको यी दृष्टान्तहरूले देखाउँछन् ।
जनप्रतिनिधि र प्रशासकीय तहमा रहेकालाई विशिष्ट बनाउने अलोकतान्त्रिक काम हिजोको राज्य व्यवस्थामा आमनागरिक भन्दा आफूलाई माथि ठान्ने शासकहरूको सोचको उपज हो । राणाकालबाट सुरु भएको अगुवा–पछुवा राख्ने प्रचलन शाहकालमा शासन गर्ने व्यक्तिपिच्छे फरक हुँदै गयो भने पञ्चायतबाट उत्कर्षतिर लागेको थियो । गणतन्त्रकालमा झन् मौलाएको छ । भीआईपी संस्कृति लामो समयदेखि रहँदै आएको तानाशाही अवशेष हो । यस्तो प्रवृत्तिले शासकप्रति वितृष्णा जगाउँछ, नागरिक र शासकप्रति दूरी बढाउँछ । समग्रमा लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउँछ । ट्राफिक नियम उल्लंघन गर्नेदेखि हिंड्दा बाटो खाली गराउने, उडानका बेला आकाश खाली गराउने वा कुनै कार्यक्रममा अरूलाई घन्टौं कुराउने प्रवृत्तिले उनीहरूले नियम कानुन मेरो लागि होइन भन्ने सोच्छन् भन्ने देखाउँछ । यो भीआईपीका नाममा लोकतन्त्रलाई संस्थागत हुन नदिने, संस्कार र थिति बसाल्न नदिने प्रवृत्ति हो । यी प्रवृत्तिहरूले जतिसुकै लोकतन्त्रको कुरा गरे पनि शासन गर्ने व्यक्तिको मानसिकता लोकतन्त्रीकरण हुनसकेको छैन भन्ने देखाउँछ । यी प्रवृत्तिहरूले अहिले नेपालमा कानुन सर्वोच्च छ कि छैन भन्ने प्रश्न उठाउँछ । जनधारणा साप्ताहिक