काठमाडौं । लक्की ड्रमार्फत छानिएका केयरगिभरहरू तिहारपछि इजरायल जान पाउने भएका छन् । इजरायलस्थित पीबाले लक्की ड्र मार्फत छनौटमा परेकाहरूको सूची असोज १३ गते वैदेशिक रोजगार विभागलाई पठाएको थियो ।
विभागले सूची पाएसँगै अन्य प्रक्रिया अगाडि बढाइएको विभागका निर्देशक गिरिराज ज्ञवालीले जनाए ।
‘मेडिकल गरेर त्यसको सूची पीबालाई पठाउँछौँ । पीबाले ‘ओके गो टु पीडीओटी’ भन्यो भने त्यसपछि हामी सीमित व्यक्तिलाई पीडीओटीका लागि पठाउँछौँ,’ निर्देशक ज्ञवालीले भने ।
यो सबै मंसिरको दोस्रो हप्तासम्ममा पुरा हुने निर्देशक ज्ञवालीको भनाइ छ । जसको पहिला भिसा लागेर आउँछ उनीहरूले नै पहिला जान पाउने उनको भनाइ छ ।
सुरक्षा जोखिम
इजरायल यतिबेला अशान्त छ । उसले इरान तथा लेबनानमा आक्रमण गरिरहेको छ । लेबनानस्थित हिजबुल्लाहमाथि आक्रमण थालेपछि अहिले लेबनान र इरानले समेत इजरायलमाथि आक्रमण गरिरहेका छन् । जसले गर्दा इजरायलमा यतिबेला सुरक्षा जोखिम छ । यस्तो अवस्थामा नेपाली श्रमिक पठाउन नहुने धेरैको तर्क छ ।
नेपालमा कामदार छनौटको प्रक्रिया जारी रहेका बेला इजरायलमा भने आक्रमण भइरहेको छ । अहिले नै तत्काल कामदार पठाउँदा सुरक्षा जोखिम बढ्न सक्नेतर्फ सरकार सचेत रहेको विभागको भनाइ छ । विभागका अनुसार प्रक्रिया सकिएपछि कामदार पठाउने विषयमा राष्ट्रिय सुरक्षा परिषद्मा छलफल हुनेछ । परिषद्ले तत्काल कामदार इजरायल पठाउन नहुने निर्णय गरेको खण्डमा तत्काल नपठाउने निर्देशक ज्ञवालीले जनाए।
इजरायलमा तत्काल कामदार पठाउँदा आउन सक्ने सुरक्षा चुनौतीका विषयमा गृह मन्त्रालयले पनि अध्ययन गर्नेछ भने परराष्ट्र मन्त्रालयले सुरक्षा जोखिमबारे बुझ्नेछ । त्यसपछि परिषद्को बैठकले तत्काल कामदार पठाउँदा सुरक्षा चुनौती हुने महसुस गरेको खण्डमा पठाउन नसकिने उनको धारणा छ ।
‘परराष्ट्रले पठाउन ठिक छ भन्यो मात्रै पठाउने हो । अहिले पठाउन मिल्दैन भन्यो भने रोक्छौं । सुरक्षा अवस्था ठिक छ भन्यो भने मात्रै पठाउने हो । सुरक्षा चुनौती भयो भने त जानी जानी पठाउँदैनौ,’ निर्देशक ज्ञवालीले भने ।
इजरायलले भने नेपालीको सुरक्षाको जिम्मेवारी आफ्नो भएकाले कुनै खतरा नहुने भन्दै सरकारलाई कन्भिन्स गर्दै आएको छ । इजरायलले दुई हजार जना केयरगिभर माग गरेको थियो । जसमा एक हजार जना मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार रहेका छन् ।