काठमाडौं। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना जन्य अभिव्यक्ति दिएको भन्दै अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्च प्रशासनले दर्ता गरेको मुद्दामा आजका लागि पेसी तोकिएको छ ।
उनीविरूद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने भन्दै उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन उठाएर दर्ता गरेका थिए ।
नेपाल बारले अहिले मुख्य रजिष्ट्रारलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा वरियतामा मुख्य न्यायाधीशभन्दा मुनि र अरू न्यायाधीशभन्दा माथिको रोलक्रम दिने गरी बनाइएको नियमावली खारेज गर्न माग गर्दै विरोध कार्यक्रम गर्दै आएको छ।
उक्त नियमावली नसच्याई कुनै पनि अदालतमा न्यायाधीश नियुक्ति गर्न नपाइने बारको माग छ। बारको विरोधकै बीचमा असोज ११ गते सर्वोच्चमा दुई न्यायाधीश नियुक्ति सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले त्यसमाथि प्रश्न उठाएका थिए । उनले न्यायाधीश सिफारिसमा लेनदेन भएको आरोप लगाएका थिए ।