काठमाडौं । सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ ।
यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो ।
अन्तर्राष्ट्रियमा दैनिक एक सय १३ देखि १५ उडान भएको थियो भने आन्तरिकतर्फ पनि दैनिक दुई सय ७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए । विमानस्थलका प्रवक्ता शेर्पाले आजका लागि आन्तरिकतर्फ १६९ अराइभल र १६९ डिपार्चर उडान तालिका तय गरिएको जनाए । अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने उनले जनाए । हेलिकप्टरको उद्धार उडानको सङ्ख्या पनि उल्लेख्य सङ्ख्यामा हुनेछन् ।
वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुलेपनि यात्रुलाई यात्रा गर्न निकै कष्टकर भइरहेको छ । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प हवाई उडान हो । एक्कासी हवाई उडानमा पनि चाप बढेपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको छ । दिनहुँ विमानस्थलमा यात्रुको भीड लाग्ने गरेको छ ।
आइतबार र सोमबार अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य सङ्ख्याका यात्री विमान उडानको पर्खाइमा थिए ।