काठमाण्डौ / नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सरकारलाई ६ बुँदे सुझाव दिनु भएको छ ।यही आश्विन महिनाको ११ र १२ गते परेको भारी र अविरल वर्षाले वाग्मति उपत्यका लगायत पूर्व र पश्चिमका धेरै जिल्लाहरुमा बाढी र पहिरोबाट ठूलो मात्रामा जन धनको क्षेति भएको प्रति चिन्ता ब्यक्त गर्दै गौतमले यस विपत्तिमा ज्यान गुमाउनु भएकाहरु प्रति श्रद्धाञ्जली प्रकट गर्नु भएको छ । दुखमा पर्नु भएका सबैमा समवेदना व्यक्त गर्दै उहाँले प्रभावित क्षेत्रका जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहात प्रदान गर्न सरकारसंग माग गर्नु भएको छ ।
मौसमविद र सम्बन्धित सरकारी निकायका कर्मचारीहरुले यो प्राकृतिक वितण्डा भन्दा पहिले नै यस्तो हुनसक्ने सम्भावना जानकारी गराएको सूचना बाहिर आएकै थियो । तर पनि जे नहुन पथ्र्यो त्यही भयो । यही साल यो भन्दा पहिले पनि प्राकृतिक प्रकोपबाट जनधनको ठूलो क्षेति भएकै थियो । तर त्यसवेला पनि र यसपटक पनि सरकारी सेवाका निकायहरुको कुनै प्रभावकारी हस्तक्षेपबाट जनता र धनमालको संरक्षण भएको देख्न पाइएन, गौतमले एक प्रेस बिज्ञप्ति मार्फत भन्नु भएको छ ।
भारी वर्षा र त्यसबाट सिर्जना हुने बाढी पहिरोलाई रोक्न सकिने थिएन । तर समयमै प्रयत्न गरेको भए जसरी जनधनको क्षेति भएको छ त्यसलाई कमभन्दा कम गर्न सकिन्थ्यो । यदि सम्पूर्ण शक्ति सहित समयमै उपायहरु अवलम्बन गरिन्थ्यो भने क्षेति पूर्ण रुपले रोक्न सकिन्थ्यो । सबै रोक्न नसकेपनि क्षेति कम गर्न सकिन्थ्यो, तर केही पनि उपाय अवलम्बन गरेको देख्न सकिएन, उहाँले भन्नु भएको छ ।
‘मैले राष्ट्रियसभाबाट एक महिना पहिले आजको अवस्थाको आकलन गरेर नेपाल सरकारलाई अत्यन्त गम्भीरतापूर्वक केही सुझाव राखेको थिएँ । अहिले पनि मैले नेपाल सरकारसमक्ष केही सुझाव राख्न चाहन्छु । नेपालको भूगर्भिक अवस्थाका कारण हिमताल फुट्ने, पग्लने, व्यापक रुपमा सडक दुर्घटना भइरहने, भूस्खलन हुने र पहिरो जाने, पहाडी क्षेत्रमा पानी पर्दा साथ बाढी आउने, नदी किनारमा ठूलो जनधनको क्षेति हुने र नदी कटान भई किसानलाई धेरै नोक्सान हुनसक्ने अनुमान गर्न सकिन्छ ।
साना ठूला भूकम्प गइरहने अवस्था हाम्रो भूगर्भिक अवस्था र पृथ्विीमै सबभन्दा कान्छा पहाडी श्रृखंलाका कारण नै हो । हाम्रो देशमा यस्ता घटना घटी रहन्छन् । यो अवस्थालाई मध्यनजर गर्दै म सरकारलाई फेरि आज केही सुझाव दि चाहन्छु’
सुझाव निम्न अनुसार छन् :-
१. तुरुन्तै नेपाल प्रहरीको मातहत रहने गरी राजमार्ग प्रहरी फोर्स निर्माण गर्न जरुरी देखिएको छ । राजमार्गको हरेक १० कि.मि.मा सुरक्षा र उद्धारका साधन सहित प्रहरी पोष्ट खडा गर्नुपर्छ । यो फोर्सलाई गाडी चेक गर्ने, खतरा देखापरेका अवस्थामा सुरक्षित स्थानमा रहन लगाउने अधिकार हुनुपर्छ । सडकको अवस्थाको जानकारी हरेक १० मिनेटमा प्रचार प्रसार गर्ने व्यवस्था पनि फोर्सको कर्तव्यमा समावेश गर्नुपर्छ ।
२. हरेक ५ कि.मि मा सि.सि.टि.भी. जडान गर्नुपर्छ । त्यसको रिपोर्ट प्रहरी पोष्ट पुगिहाल्ने संयन्त्र पनि त्यसमा जडान गर्नुपर्छ । त्यसको आधारमा हरेक पोष्टले सवारी साधन अगाडि बढ्न नहुने अवस्थामा त्यस्ता साधनलाई सुरक्षित चल्न सक्ने अवस्थामा मात्र छोडिदिनु पर्छ ।
३. सबै सडकको वैज्ञानिक अनुसन्धान गरेर पहिरो जाने स्थानको किटान गरी जानकारी दिइरहनुपर्छ ।
४. वैज्ञानिक अनुसन्धानबाट देशभरीको पहिरो जाने क्षेत्र पहिचान गरेर ती क्षेत्रबाट आवास क्षेत्र तुरुन्त परिवर्तन गर्न लगाउनु पर्छ ।
५. बाढीबाट मानवीय क्षेति रोक्नका लागि हरेक नदी किनाराका बस्ती अथवा घर नदी भन्दा ४० मिटर टाढा बस्ती सार्न लगाउनु पर्छ । नदी किनारामा उनीहरुको आधिकारिक जमिन छ भने त्यस क्षेत्रमा कुनै आय आर्जन हुनेगरी प्रयोग गर्न छुट दिनुपर्छ ।
६. राजमार्ग बाहेक अन्यत्र क्षेत्रको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छ र साधन स्रोतको व्यवस्थापन केन्द्र सरकारले उपलब्ध गराउनु पर्छ । अन्य जवाफदेही उनीहरुलाई बनाउनुपर्छ ।