सिमकोट । हुम्लामा अवरुद्ध भएको चौथो दिनमा हवाई सेवा सुचारु भएको छ।
सोमबार बिहानैबाट मौसम सफा भएपछि नेपालगञ्ज र सुर्खेतबाट हुम्लाका लागि हवाई उडान भएको नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र बहादुर सिंहले बताए।
सेवा सुचारु भए पनि नेपाल एयरलाइन्सले नेपालगंज र सुर्खेतबाट एक–एक सेड्युअल उडान भरेको थियो भने समिट एयरले पनि नेपालगञ्जबाट एक उडान भरेको थियो। यसबाट ४६ जना यात्रुहरु जिल्ला भित्रिन पाएका छन् भने त्यति नै यात्रु जिल्लाबाट बाहिरिएका छन्।
यतिबेला जिल्ला भित्रिने र बाहिरिने यात्रुहरुको चाप धेरै भए पनि उडान भने कम छ। कर्णालीका अन्य हिमाली जिल्लाहरुमा सडक यातायातसमेत जोडिसकेको अवस्थामा हुम्ला जिल्लाका तीन वटा गाउँपालिका भने अझै हवाई यातायातकै भर पर्नुपर्ने बाध्यता रहेको छ।