काठमाडौं । नजिकिएकाे दसैँका लागि ‘सुकिला नोट’को वितरण आजदेखि सुरु भएकाे छ ।
नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखाहरूबाट नोट सटही गर्न सकिने छ ।
सरकारले यसअघि नयाँ नोट वितरण गर्दै आएको थियो । यस्तो नोट छपाइ गरेर ल्याएपछि पहिलोपल्ट ढुकुटीबाट निकालिन्थ्यो र सटही गरिन्थ्यो । नयाँ नोट पाएकाहरू सम्बन्धित नोटको पहिलो प्रयोगकर्ता हुन्थे । त्यसरी प्राप्त गर्ने नोटको नम्बर समेत क्रमवद्ध हुन्थ्यो ।
नयाँ नोट ‘सिलप्याक’
बजारमा नयाँ नोटको सट्टा सुकिला नोटको वितरण गर्ने निर्णय गरेका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकका कर्मचारीमार्फत हुनसक्ने नयाँ नोटको चुहावटमा समेत कडाइ गर्न निर्देशन दिएका छन् ।
मुद्रा व्यवस्थापन विभागका उच्च तहका कर्मचारीलाई गभर्नर अधिकारीले ‘एक बन्डल नयाँ नोट पनि बाहिर नजाओस्’ भन्ने निर्देशन दिएका छन् । ‘बजारको आलोचना खेपेर नयाँ नोट नपठाउने निर्णय गरेको छु, भित्रभित्रै दुरुपयोग नहोस् भन्ने गभर्नरज्यूको निर्देशन छ,’ मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीले भने, ‘अहिले सिलप्याक गरेर राख्नुस्, तिहारपछि भेरिफाइ गर्नुपर्छ भन्ने निर्देशन छ ।’
दुई अर्ब बचत हुने दाबी
राष्ट्र बैंकले २०७९ सालमा झन्डै २२ अर्ब रुपैयाँको नयाँ नोट सटही गरेको थियो । अघिल्लो वर्ष भने यसका लागि झन्डै १३ अर्ब रुपैयाँ छुट्टाएको थियो । तुलनात्मक रुपमा कम रकम छुट्टाउँदा अघिल्लो वर्ष बजारमा नयाँ नोटको अभावको अवस्था समेत देखिएको थियो ।
यसरी बजारमा माग हुनेजति सटही गरिदिँदा २०/२२ अर्बको नयाँ नोट बजारमा जाने भन्दै यसको छपाइ लागत डेढदेखि दुई अर्ब लागत पर्ने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । नयाँ नोटको वितरण रोक्दा त्यो पैसा बचत हुने उनीहरूको एकसरो बुझाइ छ । यद्यपि सुकिला नोट भनेर वितरण गरिएको नोट पनि थप झुत्रो हुनसक्ने अवस्थामा नयाँ नोट साट्दाको ‘खुद बचत’ कति हो भन्नेबारे यकिन छैन ।
‘सुकिलो नोटप्रति छैन उत्साह’
अग्रिम टिकटको बुकिङ र नयाँ नोटको सटहीलाई आम नागरिकले दसैँको माइलस्टोनको रुपमा बुझ्दै आएका थिए । शनिबारदेखि अग्रिम टिकट बुकिङ सुरु भएको छ भने आजदेखि नोट सटही पनि सुरु हुँदै छ ।
तर, नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने भएपछि नोट सटहीमा उत्साह देखिएको छैन । दुई वर्ष अघिसम्म राष्ट्र बैंकमा सहकारी संस्थाहरुले लाखौं सहटी गरेर लगेर बाँड्थे । कलंकीस्थित एक सहकारीका प्रबन्धक भन्छन्, ‘पोहोर सहकारीलाई राष्ट्र बैंकले सटही गरिदिएन तरपनि सोधखोज ब्यापक थियो, यसपाली नयाँ नोट नदिने भनेपछि चासो नै कम भएको छ ।’
कतिपयले भने राष्ट्र बैंकको यो कदमलाई बहुसंख्यक नेपालीको सांस्कृतिक आस्थामाथिको प्रहारको रुपमा समेत अर्थ्याउने गरेका छन् ।