काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहकाे नेतृत्वमा सर्वदलीय बैठक जारी रहेकाे छ ।
आज दिउँसो १ बजेदेखि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सर्वदलीय बैैठक कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जारी रहेकाे छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा अहिले सर्वदलीय बैठकमा छलफल भइ रहेकाे छ ।
मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको थियाे । केही जिल्लामा मानवीय क्षति भएको थियाे । सडक, पुलपुलेसा पनि भत्किएका छन् । प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन छ । यात्राका क्रममा अलपत्र परेकाहरुलाई उद्धार गरी गन्तव्यमा पुर्याउने प्रयास भइरहेको छ । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।
कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उनको सचिवालयले जनाएको छ ।
कार्यवाहक प्रधानमन्त्री सिंहले यो विषम परिस्थितिमा विपद्मा परी ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालित हुन आह्वान गरेका छन् । मौसमविद्हरुका अनुसार वर्षा अझै पनि जारी रहने भन्ने जानकारी प्राप्त भएकाले थप क्षति हुनबाट जोगिन अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न उनले सबैमा अनुरोध गरेका छन् ।