मोरङ । मोरङको बेलबारी नगरपालिकामा हुने भनिएको सातौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप अविरल वर्षाका कारण प्रभावित भएको छ।
आयोजक क्लब एलएक्स सिटीका अध्यक्ष विक्रम राईले स्थगित गोल्डकपबारे छलफल गरी चाँडै नयाँ तालिका सार्वजनिक गर्ने जानकारी दिए। शुक्रबार बेलबारीमा आयोजक क्लब सदस्य र एन्फाका जिल्ला पदाधिकारीसँगको छलफलपछि हिजाेबाट सुरु हुने खेल स्थगित गर्दै नयाँ तालिका सार्वजनिक गरिने निर्णय भएको उनले जनाए।
बैठकले आउँदो चाडपर्वलाई लक्षित गर्दै सबैको समयानुकुल अवस्थामा गोल्डकप सुरु गर्ने निर्णय गरेको छ। भारतको एक टोलीसहित कुल १० टोलीको शुक्रबारबाट सुरु हुने भनिएको गोल्डकपको फाइनल असोज १९ गतेलाई तय गरिएको थियो।
गोल्डकपमा साविक विजेता बिग्रेड ब्वाइज काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, झापा एघार बिर्तामोड, सिराहको सहलेश युथ क्लब, धनकुटाको रारा एफसी, बुटवलको बुटवल लुम्बिनी एफसी, चित्लाङ एफसी, जिल्ला फुटबल संघ भोजपुर, र आयोजक एलएक्स सिटी एफसीसँगै भारत पश्चिम बंगालको दलपारासिंह स्पोर्टस एकेडेमीले सहभागिता जनाउँदै छ।
गोल्डकपबारे गत आइतबार पत्रकार सम्मेलन गरी खेल तालिकासमेत सार्वजनिक भइसकेको थियो। गोल्डकपमा विजेता टोलीले ८ लाख रुपैयासहित ट्रफी हासिल गर्नेछन्। गोल्डकपका लागि ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको आयोजक क्लब एलएक्सले करिब ६० लाख रुपैयाँ आम्दानी हुने जनाएको छ।